कर्मचारीसँग सेबोन अध्यक्ष सन्तोषनारायणले भने- म तपाईंहरुबाटै असुरक्षित छु, माग पूरा गर्न सक्दिनँ

462
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफू कर्मचारीहरुबाटै असुरक्षित भएको बताएका छन् । आइतबार बोर्डका कर्मचारीहरुले कार्यकक्षमै ताला लगाएर थुनेपछि पहिलोपटक आज बिहीबार दिउँसो १२ बजेतिर कार्यालय पुगेका अध्यक्ष श्रेष्ठ करिब १ घन्टा बसेर बाहिरिएका थिए ।

विभिन्न माग राखेर २४ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुले गत आइतबार सञ्चालक समितिको बैठक भइरहेका बेला ढोकामा ताला लगाएर राति करिब १० बजेसम्म थुनेका थिए । प्रहरीले आफ्नै गाडीमा हालेर अध्यक्ष श्रेष्ठलगायतलाई राति साढे १० बजे बाहिर निकालेको थियो । केही समय चौकीमा राखेर मध्यरातमा प्रहरीकै गाडीले घरसम्म पुर्याइदिएको थियो ।

अध्यक्ष श्रेष्ठलाई प्रहरीले पनि सुरक्षा थ्रेट भएकाले केहीदिन कार्यालय नजान आग्रह गरेको थियो ।

तर बिहिबार दिउँसो खुमलटारस्थित कार्यालय पुगेका अध्यक्ष श्रेष्ठलाई कर्मचारी युनियनमा आवद्व एक पदाधिकारीले सबै कर्मचारीहरुलाई सम्बोधन गर्न आग्रह गरेका थिए । तर अध्यक्ष श्रेष्ठले आफू कर्मचारीहरुबाटै असुरक्षित भएको भन्दै पन्छिए ।

‘कर्मचारीलाई सम्बोधन गर्नुस् भन्दा अध्यक्षले मलाई तपाईहरुबाटै सुरक्षामा खतरा छ, म तपाईहरुसँग सामूहिक भेट र सम्बोधन गर्न सक्दिन, तपाईंहरुका माग पूरा गर्न पनि सक्दिन भन्नुभयो, त्यसपछि हामी चुपचाप बस्यौं’ कर्मचारी युनियनका ती पदाधिकारीले क्लिकमान्डुसँग भने,- ‘१ घन्टा पनि नबसी निस्कनु भयो । कर्मचारीलाई नै फेस नगर्ने अवस्थामा अध्यक्षज्यू पुग्नुभएको रहेछ । यसले समाधान दिँदैन ।’

गत आइतबार सञ्चालक समितिको बैठक बस्नुअघि र पछि भएको घटनाले धितोपत्र बोर्डभित्र गम्भीर अविश्वास र तनावको अवस्था सिर्जना गरेको छ। बोर्डका एक उच्च अधिकारीका अनुसार, शुक्रबार भएको सहमतिको आधारमा आइतबार सञ्चालक समितिको बैठक बस्ने तयारी भए पनि कर्मचारीको व्यवहार र लगानीकर्ताका नाममा भएको बाह्य दबाबका कारण अवस्था नियन्त्रणबाहिर पुगेको हो।

‘शुक्रबार हाम्रो एक किसिमको सहमति भएको थियो। त्यसअनुसार आइतबार बोर्ड बैठक बस्ने तयारी थियो। तर, कर्मचारीहरुले ढोका लगाउने, थुन्ने र बाहिरका भिडलाई बोलाउने काम गरे। यो सामान्य घटना होइन, एक किसिमको हमलाकै स्वरूप थियो,’ एक उच्च अधिकारीले भने ‘कर्मचारीले अर्थमन्त्रालयको पत्र फिर्ता लिनुपर्ने वा सरकारविरुद्ध अदालत जानुपर्ने भनेर दुई विकल्प दिएका थिए। त्यसका लागि गठन गरिएको समितिलाई समेत नमान्ने घोषणा गरे। यसले संस्थाभित्र असहयोग र अविश्वासको वातावरण बनाएको छ।’

तर, नेतृत्व पक्षले भने आफूहरूले कुनै अनुचित काम नगरेको र सबै कुरा सहमति र संवादको माध्यमबाट समाधान गर्न चाहेको दाबी गरेको छ।

‘देशको समग्र अवस्था नै तरल छ, यस्तो बेला कर्मचारीको आक्रोश र बाह्य दबाबले संस्था अझ संकटमा धकेलिएको छ,’ स्रोतले भन्यो- ‘बोर्डमा अराजकताले सीमा नाघेको छ ।’

घटनापछि कर्मचारी र बोर्डबीचको दूरी अझ बढेको र आपसी विश्वास पुनःस्थापना गर्न कठिन परिस्थिति बनेको स्रोतले जनाएको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको मिति २०८२ भदौ ३१ को निर्णय (राजस्व सचिव स्तरीय) बमोजिम कार्यान्वयन गर्न भन्दै पत्र लेखेको थियो ।

उक्त पत्रमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने उल्लेख थियो ।

पत्रमा प्रचलित कानून विपरित बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असूल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्ने पनि भनिएको थियो । यसका अलावा कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रुपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने पनि पत्रमा समावेश अर्थको पत्रमा उल्लेख छ ।

उक्त कदमलाई लिएर असन्तुष्ट सेबोन कर्मचारीहरु सबै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । नियामकको रुपमा रहेको सेबोनमाथि सचिवस्तरीय निर्णय गरेर कार्यविधि खारेज गर्न नमिल्ने र उक्त कदम बोर्डको स्वायत्ततामाथिको गम्भिर उल्लंघन भएको कर्मचारीको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगाना कर्मचारीको आन्दोलन सेबोनको स्वायत्ततामाथि गरिएको हस्तक्षप विरुद्ध भएको बताउँछन् । ‘नियामक धितोपत्र बोर्डमाथि लामो समयदेखि थिचोमिचो हुँदै आएको छ भने सरकार र अर्थ मन्त्रालयबाट विभिन्न नाममा बारम्बार हस्तक्षेप भइरहेको छ,’ ढुंगाना भन्छन्, ‘यसैक्रममा पछिल्लो पटक कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष खारेजीमार्फत् कर्मचारीलाई निसानामा पार्दा त्यसैको प्रतिक्रिया स्वरुप आन्दोलन भएको हो ।’

उनले, हाल खाईपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेका कारण विगतदेखिको असन्तुष्टि पनि एकैपटक विस्फोट भएको बताए । ‘बोर्डले बनाएको कार्यविधि वैद्य छ वा छैन भन्ने विषयको टुंगो प्रशासनिक निरूपण हुँदैन । न्यायिक निकायबाट यसको निरुपण हुनुपर्छ,’ ढुंगाना भन्छन्, ‘तर, अहिले सचिवस्तरीय निर्णयबाट प्रशासनिक निरुपण गरिएको छ जुन सेबोनको स्वायत्ततामाथिको हस्तक्षप हो ।’

नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक एवं नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका सचिव अशोककुमार बिष्ट सेबोनको समग्र स्वायत्तताका लागि आफूहरु आन्दोलनमा उत्रिनु परेको बताउँछन् । ‘हामी आफ्नो सेवा सुविधाका लागि आन्दोलनमा उत्रिएका होइनौं । यो हाम्रो बोर्डको स्वायत्तता बचाउँने लडाईं हो,’ बिष्ट भन्छन्, ‘हाम्रो माग सम्बोधन गरेमा हामी दुई मिनेट ढिला नगरी काममा फर्किन तयार छौं।’

उनले कर्मचारीलाई सन्तुलित रूपमा काम गर्ने वातावरण बनाउन नेतृत्वले भूमिका खेल्नुपर्ने बताए । कानुनअनुसार २०५३ सालदेखि नै दिँदै आएको सुविधामा भूतप्रभावी निर्णय गरिएको र कानुनको लागू भूतप्रभावी रूपमा हुन सक्दैन भन्ने सर्वमान्य सिद्धान्तका आधारमा पनि मन्त्रालयले लिएको निर्णय गलत भएको उनको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका पूर्व अध्यक्ष राजु जिसी हालको मन्त्रालयको निर्णयले कर्मचारीको हातखुट्टा बाँधेर काम गर्न जानू भन्ने मान्यता बोकेको बताउँछन् । यसले कर्मचारीलाई काम गर्ने वातावरण नदिएको उल्लेख गर्दै जिसीले तत्काल समस्या समाधानमा काम गर्न नेतृत्व तयार हुनुपर्ने बताए।

‘मन्त्रालयको निर्णयअनुसार जागिर छोडिसकेको र अवकास लिइसकेको व्यक्तिले पैसा बुझाउन आउनुपर्ने स्थिति छ । मृत्यु भएको कर्मचारीको परिवार सदस्यले पनि पैसा फिर्ता लिएर आउनु पर्ने भएको छ,’ जिसी भन्छन्, ‘बोर्डले निर्णय गरेर वर्सौंदेखि कर्मचारीले लिँदै आएको सेवासुविधा आज यसरी फिर्ता गर्नुपर्ने भूतप्रभावी निर्णयलाई हामी स्वीकार गर्न सक्दैनौं ।’

अर्थ मन्त्रालयले गरेको उक्त निर्णयको विरोधमा आन्दोलित बोर्डका कर्मचारीहरूले बोर्डको कामकाज ठप्प (पेन डाउन) पारिरहेका छन् । सेबोनका कर्मचारीहरुले बिहान कार्यालय समयको पहिलो १ घण्टा धर्ना बस्ने र दिनभर काम ठप्प (पेन डाउन) गर्ने गरिरहेका छन् ।