
काठमाडौं । भोटेकोशी पावर कम्पनी प्रालिले जेनजीलाई नि:शुल्क सेयर दिने कुनै सहमति नभएको स्पष्ट पारेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग नि:शुल्क सेयर वितरण सम्बन्धी कुनै पनि सम्झौता नगरेको जनाएको हो ।
‘भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच नि:शुल्क सेयर वितरणका लागि कुनै सहमति भएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका अनुसार जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोशी पावर कम्पनीका १० प्रतिशत सेयर खरिद गर्न आवेदन दिने छ । उक्त सेयर खरिदका माध्यमबाट जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीमार्फत सेयरधनी बनाइने योजना रहेको कम्पनीले जनाएको छ ।
सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । आवश्यक रकम उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकबाट ऋणस्वरूप जुटाउने र सो ऋणको जमानी व्यवस्था मात्र भोटेकोशीसी पावर कम्पनीले गर्ने सहमति भएको कम्पनीले स्पष्ट गरेको छ।
कम्पनीका अनुसार, आयोजना निर्माण सम्पन्न भइसकेकाले हरेक वर्ष वितरण हुने लाभांशबाट पब्लिक कम्पनीले लिएको ऋण र ब्याज भुक्तान गरिनेछ ।
‘यो व्यवस्था नि:शुल्क सेयर वितरण होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस विषयमा कुनै भ्रम नपार्न सबै सञ्चारमाध्यम, सरोकारवाला निकाय र स्थानीय समुदायलाई अनुरोध गर्दछौँ ।’







प्रतिक्रिया