सुपारीसहित फलफूल आयात गर्ने सोमनाथ ट्रेड लिंकले गर्‍यो एकै वर्ष डेढ अर्बको व्यापार

84
Shares

काठमाडौं । सुपारीसहित अन्य वस्तु आयात गर्ने सोमनाथ ट्रेड लिंकले एकै वर्ष डेढ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब १७ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ७७ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २००७ मा स्थापना भएको कम्पनीले चना, हरियो केराउ, पहेंलो केराउ, अन्य सम्पूर्ण अन्न, सुपारी, फलफूल र ताजा तरकारी आयात गर्दै आएको छ ।

कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३९ प्रतिशतले बढेको छ । गत आवमा उच्च परिमाणमा वस्तु बिक्री हुँदा व्यापार बढको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै कम्पनीले १.०५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.७५ प्रतिशत खुद नाफा कमाएको थियो ।

जगत नारायण प्रसाद गुप्ताको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले विभिन्न देशबाट खाद्यान्न आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मसुर दाल, मास दाल, रहर दाल, चना दाल र मुङ दाल आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमध्ये ८८ प्रतिशत अर्थात् १ अर्बै ४३ करोड ६० लाख रुपैयाँको आन्तरिक खरिद गरेको छ । त्यस्तै १२ प्रतिशत अर्थात् २० करोड १० लाख रुपैयाँको आयात गरेको कम्पनीको भनाइ छ ।