
काठमाडौं । ह्याप्पीडेन्ट, सेन्टर फ्रुट र अल्पेनलिबे आदि ब्रान्ड बेच्ने ब्रजेश्वरी ओभरसिजले एकै वर्ष साढे १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।
यस हिसाबमा कम्पनीले दैनिक ४० लाख २१ हजार रुपैयाँभन्दा बढीको चुइगम लगायतका सामग्री बिक्री गरेको छ ।
सन् २०२४ मा १२ करोड ३० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ मा २५ करोड ९० लाख र सन् २०२२ मा २८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले सुरुमा डिलक्स पेन्ट्सको व्यापार गरेको थियो । कम्पनीले पेन्टको व्यापार छोडेर सन् २०२४ को सेप्टेम्बरबाट एफएमसीजीको व्यापार सुरु गरेको थियो ।
हाल कम्पनी परफेटी भ्यान मिलेको उत्पादन बेच्ने नेपालको राष्ट्रिय वितरक हो । कम्पनीले विशेषगरी ह्याप्पीडेन्ट, सेन्टरफ्रुट जस्ता चर्चित ब्रान्डको बिक्री वितरण गर्दै आएको छ ।
ब्रजेश्वरी ग्रुपद्वारा सञ्चालित कम्पनीले चकलेट र चुइगमको वस्तुको बिक्री गरेसँगै उच्च व्यापार गरेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२५ मा ०.७६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.३६ प्रतिशत खुद नाफा कमाएको थियो ।
शत्रुधनप्रसाद ढकाल एक्लैको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया