गृहमन्त्रीले निर्देशन दिए पनि चलेन भोटेकोशी हाइड्रो, आइतबार सिन्धुपाल्चोक प्रशासनमा छलफल

259
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनका बाबजुद एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना अझै सञ्चालनमा आउन सकेको छैन ।

गृहमन्त्री अर्यालले जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न बुधबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

तर, गृहमन्त्रीको निर्देशनका बाबजुद बन्द रहेको जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन नसकेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाका अनुसार हाल जलविद्युत् कम्पनी र स्थानीयबीच आयोजना सञ्चालनमा ल्याउने बारे छलफल चलिरहेको छ ।

साथै, जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि आइतबार दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । ‘अहिले जलविद्युत् कम्पनी र स्थानीयबीच छलफल भइरहेको छ भने हामीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाएका पनि छौं,’ बास्तोलाले भने, ‘यसपछि भने समस्या समाधान हुन सक्छ ।’

उनले जलविद्युत् कम्पनी पनि स्थानीयसँग सहमति गरेर नै अगाडि बढ्ने उद्देश्यमा रहेकाले छलफललाई प्राथमिकतामा राखेको बताए ।

‘स्थानीयको असन्तुष्टि कायम रह्यो भने भोलिका दिनमा थप समस्या पैदा हुन सक्ने भन्दै आयोजनाले पनि सहमति गरेर जाने बताएको छ,’ बास्तोलाले भने, ‘स्थानीय स्तरमा भएको आयोजना अन्यत्र लैजाने विकल्प पनि हुँदैन । यसर्थ, आपसी सहमतिका लागि पर्यत्न भइरहेको छ ।’

जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दुःख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले बुधबार साँझ गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेका थिए ।

यसपछि, गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए ।

जेनजीका नाममा पदमबहादुर श्रेष्ठलगायत ६ जनाको समूहले १० प्रतिशत निःशुल्क सेयर माग गर्दै गत भदौ २५ गतेदेखि भोटेकोशी जलविद्युत् आयोजना बन्द गराएको छ ।

यतिमात्रै होइन, सिन्धुपाल्चोकमा सञ्चालित १४ बढी हाइड्रोपावरलाई १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द गर्ने पत्र पठाएपछि ऊर्जा उद्यमीहरु आतंकित भएका छन् ।

जेनजीका नाममा एक महिनादेखि आयोजना बन्द हुँदा भोटेकोशीले ठूलो घाटा व्यहोरेको छ । गत असोज २ गते स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि र आन्दोलनकारीको सहभागितामा विवाद समाधानको छलफल भए पनि झडप र तोडफोडपछि प्रारम्भिक सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

भोटेकोशी जलविद्युत् आयोजना नेपालकै पहिलो प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवद्र्धित ४५ मेगावाट क्षमताको आयोजना हो।

अमेरिकी कम्पनी पान्डा इनर्जीले सुरु गरेको यो आयोजना सन् २००१ मा व्यावसायिक उत्पादनमा आएको हो। हाल ९५ प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताको र बाँकी ५ प्रतिशत अमेरिकी कम्पनीको छ ।