आईपीओ ल्याउने तयारीमा रहेको नगरकोट रिसोर्टले एक वर्षमा कतिको गर्‍यो व्यापार ?

168
Shares

काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले गत आर्थिक वर्षमा करिब ५ करोड रुपैयाँको कारोबार गरेको छ । रिसोर्टले गत आवमा ४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

रिसोर्टले सन् २०२४ मा २ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१७ मा स्थापना भएको रिसोर्ट सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । नगरकोट रिसोर्टले आईपीओ ल्याउने तयारी गरिरहेको छ ।

रिसोर्ट ७५ वटा कोठाको क्षमतामा निर्माण भइरहेको छ । त्यसमध्ये २४ वटा कोठाबाट होटलले अहिले सेवा दिइरहेको छ । सम्पूर्ण निर्माण सम्पन्न भएपछि रिसोर्टले लक्जरियस सुविधा दिने योजना बनाएको छ ।

रिसोर्टमा निजी बाथरुम, एयर कन्डिस्निङ र आधुनिक सुविधा हुनेछ । साथै प्रत्येक कोठामा बालकोनी अथवा टेरेसमा बगैंचाको सुविधा, स्वीमिङ पुल र हिमालको मनोरम दृश्य देख्न पाइने छ ।

रिसोर्ट सन् २०२४ को अप्रिलदेखि २४ वटा कोठाको सुविधासहित सञ्चालनमा आएको थियो ।

कम्पनीले ८० करोड १० लाख रुपैयाँ लगानी गरी रिसोर्ट निर्माण गरिरहेको हो । जसमा लगानीको अनुपात २५:७५ राखेको छ । कम्पनीअनुसार २० करोड १० लाख रुपैयाँ कर्जाबाट लगानी गर्ने र ६० करोड रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने भएको छ ।

कम्पनीले कर्जाका लागि सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ । साथै, ६० करोड रुपैयाँ लगानी पनि जुटाइसकेको छ ।

हालसम्ममा ७५ प्रतिशत अर्थात् ६० करोड ४० लाख रुपैयाँ आर्थिक प्रगति भइसकेको छ ।

होटलले गत आवमा ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सुरेन्द्रराउत क्षेत्री अध्यक्ष रहेको कम्पनीमा भोलाप्रसाद पाण्डे निर्देशक छन् ।