जर्मनीले नेपाललाई ५ क्षेत्रमा सहयोग गर्ने, २० मिलियन युरो बराबरको प्रतिबद्धता

1.5k
Shares

नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

काठमाडौं । नेपाल र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्त्वपूर्ण सम्झौता भएको छ । नेपाल सरकार र जर्मन सरकारबीत सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीचको सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौंस्थित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले पावर डिस्ट्रिब्युसन स्ट्रेन्थेनिङ कार्यक्रममा सहयोगस्वरूप २० मिलियन युरोसम्मको प्रतिबद्धता जनाएको छ । यो परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ र देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

यो परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ । त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुनेछ । यो सम्झौताको कार्यान्वयन ५ वर्षभित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ । यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले ५ क्षेत्रमा सहयोग पुर्‍याउनेछ ।

जसमध्ये स्वास्थ्य क्षेत्रमा राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाइनेछ । कृषि तथा निजी क्षेत्र विकासमा समावेशी र जलवायु-प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी सुशासनतर्फ राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ जसले दिगो विकासमा योगदान पुर्‍याउनेछ ।

जर्मन सरकारले अध्ययन तथा विज्ञ कोष मार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत ५ वर्ष भित्रै हुनेछ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल-जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताए । उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानको सराहना गरे । जर्मन राजदूत उडो भोल्जले नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।