
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरीसमक्ष बयान दिएका छन् । उनी बुधबार बिहान नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उपस्थित भएका थिए।
ब्यूरोका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् ।
सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको लिखित जवाफ बस्नेतले दिएका छन् । ब्यूरो स्रोतका अनुसार बस्नेतले ती प्रश्नमा इन्कारी बयान दिएका छन्।
यसअघि प्रहरीले बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जी माग गरेको थियो, तर अदालतले पुर्जी दिन अस्वीकार गरेपछि उनी स्वतः उपस्थित भई बयान कागज गरेका हुन् ।
यो प्रकरण एक महिलाले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै दिएको उजुरीसँग सम्बन्धित रहेको बताइन्छ । शोभा पाठक नामकी महिलाले साइबर ब्यूरोमा उजुरी दर्ता गर्न खोजेकी थिइन्, तर त्यहाँ नदर्ता भएपछि उनले हुलाकमार्फत जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पठाएकी थिइन् ।
सोही उजुरीका आधारमा सरकारी वकिल कार्यालयले असोज ५ गते साइबर ब्यूरोलाई पत्र पठाउँदै ‘महेश बस्नेत फ्यान क्लब’ कसको नाममा खोलिएको हो भन्नेबारे थप अनुसन्धान गरी राय पेश गर्न निर्देशन दिएको थियो।
ब्यूरो स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तीन वटा कार्यादेश (टास्क) दिएकोमा, बस्नेतको बयान कागज गर्ने काम पूरा भएको र बाँकी दुई कार्य पूरा भएपछि प्रतिवेदन पेश गरिने जनाएको छ।








प्रतिक्रिया