बाढी पहिरोले भौतिक पूर्वाधारतर्फ झण्डै सवा ७ अर्बको क्षति, पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

कुन सडकमा कति क्षति ?

84
Shares

काठमाडौं । गत असोजको तेश्रो साता परेको अविरल वर्षा र लगत्तै आएको बाढी तथा पहिरोका कारण भौतिक पूर्वाधारतर्फ देशभर सवा सात अर्ब रुपैयाँबराबरको क्षति भएको छ ।

क्षतिको यो रकम बिपी राजमार्गबाहेकको हो । बिपी राजमार्गमा अघिल्लो वर्षको बाढी पहिरोले क्षति पुर्याएको थियो । तत्कालिन समयमा सरकारले आफ्नै स्रोतबाट करिब ११ करोड रुपैयाँ परिचालन गरी तत्कालको लागि डाइभर्सन सडक निर्माण गरेर यातायात सुचारु गरेको थियो । यो वर्षको बाढी पहिरोले त्यहि डाइभर्सन बगाएको हो ।

बाढी पहिरोका कारण सडक सञ्जाल र पुल पुलेसामा यो रकम हाराहारीमा क्षति भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति पुगेका भौतिक संरचनाहरु पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार गत असोज १७ गतेदेखि १९ गतेसम्म आएको मनसुनजन्य बाढी पहिरोका कारण प्रमुख राजमार्ग, वैकल्पिक सडक, हुलाकी राजमार्ग, बेलिब्रिज र स्थायी पुलहरु क्षतिग्रस्त बनेको थियो ।

क्षतिग्रस्त यस्ता संरचनाहरु पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ । यसबाहेक गत वर्ष यहि वेलामा बाढी पहिरोले क्षति पुर्याएका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गर्न बाँकी छ ।

यो वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मेची राजमार्गमा क्षति पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि नयाँ बेलिब्रिज निर्माणका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।

कुन कुन सडकमा कति क्षति ?

सडक विभागका प्रवक्ता प्रभात झाका अनुसार यो वर्षको वाढीले पहिरोले गर्दा देशभरका सडक खण्ड गरी सयौं किलोमिटर सडक क्षतिग्रस्त भएर बगेको छ । यस्तै २८ करोड १२ लाख रुपैयाँबराबरको एक दर्जनको हाराहारीमा पुलहरु भत्केर क्षतिग्रस्त भएका छन् ।

उनका अनुसार पछिल्लो समयमा सबैभन्दा बढी मेची राजमार्गमा दुई अर्व ३५ करोड रुपैयाँबराबरको क्षति पुगेको छ ।

जसअनुसार जोरकलास फिक्कल, फिक्कल गोदाक, गोदाक माईखोला, माईखोला राजदुवाली, राजदुवाली इलामबजार, इलाम धोविधारा, धोविधारा नेपालटार, नेपालटार राँके र राँके फिदिम सडक खण्डहरु बाढी पहिरोबाट क्षति ग्रस्त बनेको हो ।

यस्तै अरनिको राजमार्गमा ३० करोड ५५ लाख, कालिगण्डकी कोरिडोर(बेनी जोमसोम कोरला) मा ८५ करोड, कान्तिपथमा २५ करोड, सडक डिभिजन कार्यालय खाल्टेतर्फ ९ करोड २० लाख, सडक डिभिजन कार्यालय सुर्खेततर्फ ६ करोड ४८ लाख, सडक डिभिजन कार्यालय नेपालगञ्जतर्फ ५ करोड ९० लाख, पुष्पलाल(मध्यपहाडी राजमार्गतर्फ १० करोड ८० लाख, डिभिजन कार्यालय भरतपुरतर्फ २२ करोड, रोड डिभिजन कार्यालय चरिकोट अन्तर्गत ३० करोड ५५ लाख, डिभिजन कार्यालय बाग्लुङतर्फ ८ करोड, कोशी राजमार्ग र मध्यपहाडी लोकमार्गतर्फ १४ करोड ४० लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।

यसबाहेक मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा डेढ करोड, सिद्धार्थ राजमार्गमा ५ करोड, डिभिजन कार्यालय पोखरातर्फ ७ करोड ८० लाख, सडक डिभिजन कार्यालय बिराटनगर र दमकतर्फ १९ करोड ८० लाख, हुलाकी राजमार्गतर्फ २० करोड ८५ लाख, सडक डिभिजन धनकुट्टा र उत्तरदक्षिण(कोशी) सडकतर्फ २६ करोड ६० लाख रुपैयाँँबराबरको क्षति पुगेको छ ।