साढे ५७ करोडमा सडक विभागको नयाँ भवन बन्दै, जेनजी आन्दोलनमा विभागतर्फ कति भयो क्षति ?

560
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सडक विभाग यहि वर्षदेखि नव निर्मित भवनबाट सेवा दिने भएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित मिनभवनमा निर्माण भइरहेको यो भवनको निर्माण हालसम्म ५६ प्रतिशत सम्पन्न भएको छ । विभागको नयाँ भवनको निर्माण २०७९ चैतदेखि सुरु भएको थियो ।

भवन निर्माणको ठेक्का कविन्द्र कृषि जेभी टेकुले ५७ करोड ६० लाख रुपैयाँमा पाएको थियो । ठेक्का सम्झौताअनुसार यो भवन आगामी पुष १३ गतेभित्र सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख इन्जिनियर सुवोध देवकोटाका अनुसार हालसम्म भौतिक पूर्वाधार(स्ट्रक्चरल) तर्फ शतप्रतिशत काम सम्पन्न भइसकेको छ ।

दुई हजार ४ सय २ वर्गमिटर क्षेत्रफलमा बेसमेन्टसहित ८ तल्लो यो भवनमा अब इन्टेरियर, खानेपानी, अग्नी नियन्त्रण, सौचालय पाइपलाइन जडान, रंगरोगन, बिजुली वत्ती जडान तथा कोठाको पार्टीनेशनलगायतका काम गर्न बाँकी छ । निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको यो भवनमा दुईवटा लिफ्ट सुविधासमेत छन् ।

‘आवश्यकताको आधारमा कोठाको पार्टीेनेशन गरी यसै आर्थिक वर्षदेखि यो नवनिर्मित भवनबाट सडक विभागले आफ्नो सेवा दिन सुरु गर्दैछ,’ देवकोटाले भने ।

भूकम्पबाट क्षतिग्रस्त बनेको बबरमहलस्थित बबरमहल भवनको पुनःनर्माण पश्चात उक्त भवनबाट कार्यसम्पादन गर्न सुरु गरेको सडक विभाग दुई वर्षमै त्यहाँबाट बाहिरिनु परेका छ ।

भूकम्पको पराकम्पले थलिएको बबरमहलको पुर्नर्निमाणपछि २०८० भदौमा सडक विभाग उक्त स्थानमा सरेको थियो।

२०१५ र २०७२ सालमा आएको बिनाशकारी भूकम्पबाट थिलथिलिएको सडक विभागको पुनःनिर्माण गरी पछिल्लो दुई वर्षदेखि अत्याधुनिक स्वरुपमा सञ्चालनमा आएको थियो ।

भूकम्पमा क्षति भएको भवनको राष्ट्रिय पुनस्निर्माण प्राधिकरणको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागले करिब ८६ करोडको लागतमा पछिल्लो समयमा पुनर्निमाण गरेको थियो ।

जेनजी प्रदर्शन र आन्दोलनका कारण तोडफोड र आगजनीपश्चात पूर्ण रुपमा क्षतिग्रस्त बनेको उक्त भवनबाट ठिक दुई वर्ष अर्थात २०८२ भदौ २४ गतेदेखि विभाग त्यहाँबाट विस्थापित भएको हो ।

कति भयो क्षति ?
गत् भदौंमा भएको जेनजी आन्दोलनको क्रममा बबरमहलस्थित सडक विभागमा करौैडौं रुपैयाँबराबरको क्षति भएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौं २४ भएको प्रदर्शनको क्रममा सडक विभागमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । तोडफोड र आगजनीका कारण सडक विभागको भवन पूर्ण रुपमा क्षति भएका छन् ।

सडक विभागका इन्जिनियर श्याम खड्काका अनुसार आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले विभागको विभिन्न महाशाखा र शाखामा तोडफोड गरी आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरुले महानिर्देशक बस्ने कार्यकक्ष, सचिबालय, सम्भार महाशाखा र यो महाशाखाअन्तर्गत शाखाहरु, योजना तथा अनुगमन महाशाखा र यो महाशाखाअन्तर्गत रहेका शाखाहरु, भू वातावरण तथा सामाजिक शाखा, पुल महाशाखा र शाखाहरु, विकास सहायता कार्यान्वयन महाशाखा र शाखाहरु, यान्त्रिक महाशाखा र शाखाहरु तोडफोड गरी आगजनी गरेका थिए ।

यस्तै आर्थिक प्रशासन शाखा, जिन्सी शाखा, पुस्तकालय, बैठक कक्ष, हुलाकी राजमार्ग आयोजना निर्देशनालय, उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय योजना तथा अनुगमन महाशाखा तथा शाखा, कानून तथा विवाद व्यवस्थापन शाखा, काठमाडौं चक्रपथ सुधार योजना र नागढुङगा सुरुङमार्ग निर्माण आयोजनासमेत तोडफोड गरी आगजनी गरेका थिए ।

विभागमा ठूलो क्षति भएपनि हालसम्म क्षतिको आर्थिक मूल्याँकन प्रतिवेदन आइसकेको छैन । खड्काका अनुसार आगामी सातासम्म क्षतिसहितको पूर्ण विवरण आउनेछ ।

प्रदर्शनकारीहरुले विभागको हातामा रहेका ७२ वटा दुई पाङ्ग्रे तथा ६५ वटा चार पाङ्ग्रे सवारी साधनमा तोडफोड गरी आगजनी गरेका थिए । यस्तै विभागमा रहेको ६ साइकल, ३ इ साइकल, ३६ डेक्सटप, ७ मोनिटर, ५४ ल्यापटप, ४ फोटोकपी मेसिन, ४ टेलिभिजन ४५ वटा प्रिन्टर लुटपाट भएको छ ।