
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त बनेको बबरमहलस्थित बबरमहल भवनको पुन:निर्माण पश्चात उक्त भवनबाट कार्यसम्पादन गर्न सुरु गरेको सडक विभाग दुई वर्षमै त्यहाँबाट बाहिरिनु पर्यो ।
भूकम्पको पराकम्पले थलिएको बबरमहलको पुर्नर्निमाणपछि २०८० भदौमा सडक विभाग उक्त स्थानमा सरेको थियो।
२०१५ र २०७२ सालमा आएको बिनाशकारी भूकम्पबाट थिलथिलिएको सडक विभागको पुनःनिर्माण गरी पछिल्लो दुई वर्षदेखि अत्याधुनिक स्वरुपमा सञ्चालनमा आएको थियो ।
भूकम्पमा क्षति भएको भवनको राष्ट्रिय पुन:निर्माण प्राधिकरणको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागले करिब ८६ करोडको लागतमा पछिल्लो समयमा पुनर्निमाण गरेको थियो ।
जेनजी प्रदर्शन र आन्दोलनका कारण तोडफोड र आगजनीपश्चात पूर्ण रुपमा क्षतिग्रस्त बनेको उक्त भवनबाट ठिक दुई वर्ष अर्थात २०८२ भदौ २४ गतेदेखि विभाग त्यहाँबाट विस्थापित भएको हो ।
ऐतिहासिक धरोधरको रुपमा रहेको उक्त भवनमा पछिल्लो समयमा पुन:निर्माण पश्चात् अत्याधुनिक सेवा सुविधा थप गरेर ‘लक्जरीयस’ बनाइएको थियो । पाँच तारे होटेलसरह सुविधाहरू उक्त भवनमा पछिल्लो समयमा थप गरिएको थियो ।
तर जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको निसानामा यो विभाग पर्यो । तोडफोड पश्चात् भएको आगजनीका कारण यो भवनको करिब ९५ प्रतिशत भौतिक संरचना जलेर नष्ट भएका छन् ।

सुर्खी चुनाबाट तयार पारिएको मोटा पर्खालमा आगजनीपछि पाप्रा पाप्रा निस्किएका छन् । आगो निभाउन प्रयोग भएको पानीको कारण पर्खालहरू गलेर झन झोत्रिएका छन् ।
छत, झ्याल र ढोकामा प्रयोग भएको काठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले कति मूल्यबराबरको क्षति बेहोर्यो भन्ने विषयमा अहिलेसम्म प्रारम्भिक चरणको प्रतिवेदनसमेत आइपुगेको छैन ।
विभागका अधिकांश उच्च अधिकारीहरू बाढी पहिरोका कारण देशभरकै सडक खण्डहरू क्षतिग्रस्त र अवरुद्ध भइरहेकाले त्यसमै ध्यान केन्द्रित भएर खटिएकाले क्षतिको विषयमा अध्ययन गर्न समस्या भएको छ । प्रशासन शाखाको नेतृत्वमा क्षतिको मूल्यांकन गर्न एउटा समिति बनाइए पनि जलेको भवनभित्र पसेर क्षतिको यकिन गर्न समेत समस्या परेको छ ।
जलेको भवनभित्र प्रवेश गर्दा जलेर क्षतिग्रस्त भएको छतको मोटा मोटा काठको फलेक र पर्खाल झर्न सक्ने जोखिम पनि त्यतिकै छ । यसले गर्दा पनि क्षतिको विवरण संकलन गर्न कठिनाई भएको विभागको अधिकारीहरूले औंल्याएका छन् ।

आन्दोलनकारीहरूले यो विभागमा राखिएको करिब दुई सयभन्दा बढी दुई पाङग्रे र चार पाङग्रे सवारी साधन जलाएर नष्ट पारे । भवनभित्रका दर्जनौं आयोजनामा रहेका फर्निचरजन्य सामान, एसी, डिजिटल बोर्ड, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, ल्यापटपका साथै महत्वपूर्ण उपकरण र कागजात तथा फायलहरूमा आगजनी गरि जलाएका छन् भने कतिपय लुटिएका पनि छन् ।
बबमहलमा विभागको महत्वपूर्ण चारवटा युनिटहरू थियो । ति युनिटहरूमध्ये स–साना युनिटहरू केहि जोगिएका छन् भने ठूला र महत्वपूर्ण मानिएका युनिटहरू करिब शतप्रतिशत तोडफोड र आगजनीका कारण नष्ट भएका छन् । यो भवनको अधिकांश भाग अब पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको विभागको अधिकारीहरूले औंल्याएका छन् ।
महत्वपूर्ण मानिएका कागजातहरू पुनः ‘रिकभर’ गर्न नसकिने गरी डेटावेस फाइलहरूसमेत जलेका कारण भौतिक पूर्वाधारका क्षेत्रमा आगामी दिनमा थप समस्या आउने विभागको भनाइ छ ।
यो महल अहिले आफ्नो अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको छ । सडक विभागका तल्लोदेखि माथिल्लो दर्जाका कर्मचारीहरू भवनको बाहिर आएर दिनहुँ न्यास्रो मनले भवन हेर्दै फर्किन्छन् । कर्मचारीहरू भदौमै प्रवेश गरेर दुई वर्षको अन्तरालमा मै भदौमै निस्कासित हुनुपरेको पीडा सुनाउँछन् ।
सडक विभागका अधिकारीहरूका अनुसार आगजनीबाट क्षतिग्रस्त विभागको यो भवन अब पुनः मर्मत सम्भार गरेर पनि बस्न लायक छैन । पर्खालका साथै छत ठड्याउन राखिएका काठका फलेकहरूसमेत जलेर क्षतविक्षत भएकाले सबै संरचना पुन:निर्माणको साटो भत्काएर नयाँ भवन बनाउँदा सहज हुने अधिकारीहरूले बताएका छन् । यस्तै छतमा प्रयोग भएका फलामको बीम बार आगोले जलेर लच्किएका छन् ।
विभाग आगजनीबाट क्षतिग्रस्त भएपछि अधिकारी र कर्मचारीहरू अहिले छरिएर जसो तसो आपातकालिन अवस्थाको कामको मात्रै कार्यसम्पादन गर्न बाध्यता आएको छ ।

पहिले एकै स्थानमा सबै निकाय हुँदा कार्यसम्पादन गर्दा समयको बचत हुन्थ्यो, आपातकालिन समयको लागि तत्कालै निर्णय लिन सकिन्थ्यो भने अहिले निक्कै कठिनाइ भएको विभागका उपमहानिर्देशक प्रभातकुमार झाले जानकारी दिए।
‘अहिले आपातकालिन बैठक राख्न खोज्दा अन्यत्र सरेको आयोजना प्रमुखलाई आउन कम्तिमा डेढदेखि २ घण्टाको समय बढी लाग्छ,’ झाले भने,‘पहिले एकैस्थानमा हुँदा २ देखि ५ मिनेटमा सबै जना बैठक कक्षमा उपस्थित भएर छलफल गर्न सहज थियो । यसरी अत्यधिक समय खर्चिएका कारण तत्कालै बैठक बसेर तत्कालै ‘रिजल्ट’ ल्याउन पनि समस्या आएको छ ।’
यस्तै आगजनीमा सवारी साधनसमेत जलाइएका कारण उच्च अधिकारीलाई एक स्थानबाट अर्को स्थानमा ‘मुभ’ गर्न अर्को समस्या आएको विभागको भनाइ छ । सबैको समय र सवारी साधनको अवस्था हेरेर आजै बस्नुपर्ने कतिपय बैठकहरू अर्को दिन बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कहाँ कहाँ सारियो सडक विभागको विभिन्न आयोजना ?
झाका अनुसार बबरमहल भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि अहिले अधिकारी कर्मचारीहरू विभिन्न स्थानमा छरिएर काम गर्दैआएका छन् । केहि निकाय विशालनगर, केही निकाय चाकुपाट, त्यस्तै अर्को निकाय हरिहर भवन, केहि निकाय बबरमहलको पछाडीपट्टि रहेको र केहि जलेको भवनको पछाडीको भागबाट जसोतसो सेवा दिन सुरु गरेका छन् ।
यान्त्रिक महाशाखा, यान्त्रिक तालिम केन्द्र र मदन भण्डारी राजमार्ग योजना निर्देशनालय पाटनढोकास्थित साबिकमा यान्त्रिक तालिम केन्द्र रहेको भवनमा सारिएको छ ।
यस्तै विकास सहायता कार्यान्वयन महाशाखा पाटनढोकास्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको पुरानो भवनमा सारिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुल सेक्टर, काठमाडौ चक्रपथ सुधार योजना, नागढुङगा सुरुङमार्ग आयोजना, पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना बबरमहलस्थित क्षति नभएको पछाडीको भवनमा सारिएको छ।
हुलाकी राजमार्ग आयोजना विशालनगरस्थित रेल विभाग, उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनालाई काठमाडौं डिभिजन परिसरमा रहेको पहिलेको सूर्यविनायक धुलिखेल सडक योजना भएको स्थानमा सारिएको छ ।

यसैगरी कान्ति लोकपथ योजना कार्यालयलाई हाल पानी जहाज कार्यालय रहेको एकान्तकुनास्थित भवनमा सारिएको छ ।
‘छरिएर बस्दा काम गर्न निक्कै कठिनाइ भएको छ भने तत्कालै गर्नुपर्ने निर्णयको लागि समय लाग्ने, समन्वयन गर्न कठिनाइ भएको छ, उदाहरणको लागि अहिले वर्षा भएर नारायणगढ–मुग्लिङ, तातोपानी, रसुवा, दाउन्ने भैरहवा सडक, धुलिखेल सडकलगायत क्षतिग्रस्त र अवरुद्ध भइरहेका छन्,’ प्रवक्तासमेत रहेका झाले भने,‘यस्ता विषय हेर्ने निकायहरू विभिन्न स्थानमा छरिएर जसोतसो बसेका छन् ।’
बाढीपहिरोले अवरुद्ध भएको विषयमा तत्कालै बैठक बस्ने, निर्णय गर्नुपर्ने हुन्छ, तर यसका लागि सम्बन्वय गर्न र एकै स्थानमा सबैलाई तत्कालै उपस्थित हुने स्थानसमेत नभएकाले तत्कालै कार्यसम्पादन गर्न ठूलो समस्या आएको प्रवक्ता झाले जानकारी दिए ।
बस्ने कोठासम्म नभएपछि केहि अधिकारीहरू विभिन्न स्थानमा खुला चौरमै बसेर पनि आपातकालिन सेवाहरू उपलब्ध गराइरहेका छन् ।

११२ वर्षे इतिहास बोकेको बबरमहल
राणाकालीन समय (बिक्रम सम्वत् १९६०–१९७०) मा चन्द्र शमशेर राणाले आफ्ना छोराका लागि बबरमहल भवन निर्माण गरेका थिए । सुरुआति समयमा यो भवनमा चन्द्रशमशेरका सपरिबार बस्ने निवासको रुपमा प्रयोगमा ल्याइएको थियो ।
चन्द्रशमशेरको छोराको नाम बबर शमशेर राणा थियो । चन्द्र शमशेरले छोरा बबर शमशेरलाई उपहारमा यो दरबार दिइएकाले यसको नाम पनि बबरमहल भरेको सडक विभागका अधिकारीहरूले जानकारी दिए ।
बबरमहल यूरोपेली निओ–क्लासिकल शैलीमा निर्माण भएको हो । बाक्लो पर्खाल, अग्ला स्तम्भ, ठूला झ्यालढोका र भव्य अग्रभाग यो भवनको मुख्य विशेषता हुन् । बबरमहल परिसरभित्र प्रशस्त आँगन, उद्यान र सहायक भवनहरू पनि छन् ।
अहिले भएको सडक विभाग (बबरमहल) नजिकैको शहरी विकास तथा भवन निर्माण विभागसँगै टाँसिएको क्षेत्रलाई पनि बबरमहल भनिन्छ । बबरमहलमध्ये कै एउटा भागमा निजी स्वामित्व भएको बबरमहल ‘रिभिजिटेड’ नामको होटल, रेस्टुरेन्ट तथा आर्ट ग्यालरी सञ्चालन भइरहेको छ ।
चन्द्रशमशेरका महानाती बंशज रहेका गौतम शमशेर जंगबहादुर राणाले यो रिभिजिभेड बुटिक होटेल सञ्चालन गर्दैआएका छन्।
बिक्रम सम्वत् २००७ सालपछि राणाकालिन शासन अन्त्यसँगै बबरमहलको केहि भाग सरकारको स्वामित्वमा ल्याइएको थियो । सरकारको स्वामित्वमा आएको यो भवनबाट २००७ सालपछि सडक विभागले सेवा दिँदैआएको थियो ।
सडक विभागसँगैको बबरमहलको अर्को भवनमा केहि समय महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगसमेत सञ्चालन भएको थियो ।








प्रतिक्रिया