
काठमाडौं । आइतबार देशभरका २६ वटा प्रमुख सडक खण्डहरु पूर्ण रुपमा अवरुद्ध छन् ।
सडक विभागका अनुसार यसमध्ये बागमती प्रदेशमा मात्रै १२ वटा सडक खण्डहरु पूर्ण रुपमा अवरुद्ध अवस्थामा छन् ।
विभागका प्रवक्ता प्रभात झाका अनुसार बाढी पहिरोका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका २, सोहि गाउँपालिकास्थित पासाङल्यामु सडक खण्डमा ३ स्थानमा सडक खण्ड अवरुद्ध भएको छ ।
यस्तै सिन्धुपाल्चोकको अरनिको राजमार्गस्थित भोटेकोशी गाउँपालिका ४ चारकिलो, काभ्रेप्लाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, डालावेशी, बुलढुङगालगायतका स्थान, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित महालक्ष्मी खोला नजिक, इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरी बजार, भिमफेदी गाउँपालिका ८ स्थित वगुवा खोला नजिक कान्ति लोकपथ पनि बाढी पहिरोका कारण सडक खण्ड अवरुद्ध भएका छन् । कान्ति लोकपथमा सवारी साधन होल्ड गरिएको छ ।
यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका ६ स्थित मध्यपहाडी लोकमार्गको नागस्थान र मरिण गाउँपालिका २ को मदन भण्डारी राजमार्गको सिन्दुरे भन्ने स्थानमा पनि सडक अवरुद्ध भएका छन् ।
बागमती प्रदेशमा धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित पृथ्वी राजमार्गको जवाङखोलामा एकतर्फी अवरोध भएकाले त्यहाँ सवारी साधन होल्ड गरिएको छ । यस्तै धादिङको गजुरी गाउँपालिका ५ घाटवेसी र गाउँपालिका ६ जहरेखेत स्थित पृथ्वी लोकमार्गमा पनि पहिरो गएर एकतर्फी अवरोध भएकाले त्यहाँ पनि सवारी साधन होल्ड गरिएको छ ।
यसैगरी चितवनको इच्छाकामना गाउँपालिका ६ नाम्चेखोला र इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो गएर एकतर्फी अवरोध छ । त्यहाँ सवारी साधनको अवागमनमा रोक लगाएर होल्ड गरिएको छ ।
मकवानपुरको कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं खण्ड खण्डको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरी बजारमा सवारी साधन होल्ड गरिएको छ । यस्तै इन्द्रसरोवर गाउँपालिका ४ स्थित फाखेल हुमाने काठमाडौं सडकमा पनि सवारी साधन होल्ड गरिएका छन् । काभ्रेप्लाञ्चोकको विपी राजमार्ग र अरनिको राजमार्गस्थित धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट र काभ्रेको सिन्धुपाल्चोकको सिमानासम्म दुवैतर्फी सवारी साधन होल्ड गरिएको छ ।
यस्तै काभ्रेको बिपी राजमार्गको रोशी गाउँपालिका ११ माम्तीखोला, डालावेसी र बुलढुङगामा पनि सवारी साधन होल्ड गरिएको छ । त्यस्तै सोहि जिल्लाको अरनिको राजमार्गस्थित पकुचा भन्ने स्थानमा एकतर्फी सवारी साधन सुचारु भएपनि अवागमन होल्ड गरिएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गस्थित भोटेकोशी चारकिलो स्थानमा पनि सवारी साधन होल्ड गरिएका छन् । काठमाडौंबाट धादिङ र मकवानपुरहुँदै बाहिरिने (चन्द्रागिरी नगरपालिकाबाट विभिन्न नाकाहुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङगा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड) मा अर्को सूचना नआउँदासम्मको लागि दुवैतर्फको सवारी साधन होल्ड गरिएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत रामेछाप सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्ड पनि अवरुद्ध छन् ।
नागढुङगा मुग्लिन सडक खण्ड बिहान ११ बजे एकतर्फी खुला गरिएको छ । मुग्लिन नारायणघाटको तुहिन खोलाको नयाँ पुलनजिक अवरुद्ध यथावत छ । खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डको टेकरमा पहिरो गएर र सिस्नेरी बजारमा नदीले सडक काटेको कारण उक्त खण्ड पनि अवरुद्ध छन् ।
खुलेखानी–फाकेल–काठमाडौं सडकको पहिरो हटाइए पनि ओसिलो सडक सतहमा सवारी साधनको आवागमनका कारण क्षति पुग्ने जोखिमका कारण यातायात आवागमन बन्द छ ।
विभागका अनुसार कोशी प्रदेशको ६ वटा सडक खण्ड बाढी पहिरोका कारण अवरुद्ध भएका छन् ।
कोशी राजमार्गको संखुवासभास्थित भोटखोला गाउँपालिका ४ स्थित बरुणखोला, मकालु गाउँपालिका ३ स्थित एकुवा, ओखलढुङगाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमानामा पर्ने भंडारे खोलाका कारण सिद्धिचरण लोकमार्ग, उदयपुरको सिद्धिचरण लोकमार्गको उदयपुर कटारी नगरपालिका १४ स्थित दलदले, धनकुट्टाको मध्यपहाडी लोकमार्गस्थित पाख्रीबास नगरपालिका ५ को दिकुरे र उदयपुरको मदन भण्डारी लोकमार्गको तोरीबारी झोलुङगो पुल नजिक पनि सडक खण्डहरु अवरुद्ध छन् । यसैगरी हिले पाख्रिवास लेगुवा सडक खण्ड र धरान धनकुट्टा सडक खण्ड पनि अवरुद्ध छन् ।
यसैगरी मेचीनगर नगरपालिका ६ र सुकुना खोलामा आएको बाढीका कारण सिवसत्ताक्षी नगरपालिका १० स्थित पूर्व पश्चिम राजमार्ग र झापाको माइधार–दुधे सडक खण्डको भालुखोलाको डाइभर्सन बाढीले वगाउँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै मधेश प्रदेशमा रौतहटस्थित चन्द्रपुर नगरपालिका १ र २ मा पर्ने पूर्व पश्चिम राजमार्गको पहिलो र दोश्रो लच्का पनि अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।







प्रतिक्रिया