
काठमाडौं । महाबौद्धको होलसेल व्यापारीलाई गर्दै सवा ९ अर्ब रुपैयाँ लगानीमा काठमाडौंको बल्खुमा आदर ट्रेड मल बनिरहेको छ । आदर मल्टि–इन्भेष्टमेन्ट कम्पनीले बल्खुमा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ लगानीमा मल बनाइरहेको हो।
कम्पनीले सुरुमा ८ अर्ब रुपैयाँ लगानीमा ४ लाख २९ हजार ४ सय ८० स्क्वारफिटमा मल बनाउने भनेको थियो । तर, अहिले बिक्री योग्य क्षेत्रफलमा प्रति वर्ग फिट लागत ५० प्रतिशत वृद्धि भएकाले लगानी बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले अब ३ लाख ३२ हजार ९ सय ४९ वर्गफिट बिक्री योग्य क्षेत्रफलको लागत ९ अर्ब ३० करोड १० लाख रुपैयाँ अनुमान गरेको छ ।
कम्पनीले हालसम्ममा ६३ प्रतिशत आर्थिक प्रगति गरिसकेको जनाएको छ । कम्पनीले होलसेल व्यापारीका लागि व्यवसायिक स्थान बिक्री गर्ने भएको छ । कम्पनीले विशेषगरी महाबौद्धमा रहेका होलसेल व्यापारी लक्षित स्थान बिक्री गर्ने उल्लेख गरेको छ । कम्पनीले सो स्थानमा २ हजार ५९ युनिटको पसलका लागि स्थान बिक्री गर्ने जनाएको छ । सुरुमा कम्पनीले २१ सय युनिट बनाउने योजना बनाएको थियो ।
कम्पनीमा ५ सय १९ जना व्यक्तिको स्वामित्व रहेको छ । सेयरहोल्डरहरु अधिकांश होलसेल व्यापार तथा आयातकर्ता छन् । जसमा हाल महाबौद्ध क्षेत्रमा व्यापार गरिरहेका व्यापारीहरु पनि समावेश छन् । कम्पनीले अहिले अल्पकालीन कर्जाका लागि २ अर्ब ८१ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले यसअघि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको थियो ।
कम्पनीकाअनुसार आयोजनाको प्रगति बुकिङ र रकम संकलनमा भर पर्ने उल्लेख गरेको छ । तर, भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्ममा ३२ प्रतिशत क्षेत्रफल बुकिङ भइसकेको छ । जसमा कम्पनीले बुकिङमार्फत् ५६ प्रतिशत रकम अग्रिम भुक्तानीवापत प्राप्त गरिसकेको छ । सन् २०१७ मा स्थापना भएको कम्पनीले बुकिङको अग्रिम भुक्तानी समयमै नपाउँदा निर्माण कार्य ढिला भएको जनाएको छ ।







प्रतिक्रिया