जेनजी आन्दोलनका कारण पर्यटकको संख्यामा ४५ प्रतिशत कमी

56
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । नेपाल पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको बताए ।

विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका जोशीले आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे छ । उनले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गरे । तर अब थप अरु दुर्घटना नभएकाले त्यसमा सुधार आउने पर्यटन बोर्डको आकलन छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनीका घटनाहरुका कारण पर्यटक आगमनको संख्यामा कमी भएको छ । त्यसले ठ्याक्कै सिजन सुरु हुँदै गर्दा हाम्रो मनोबल अलिकति खस्काएको छ । सेप्टेम्बरमा औसतमा ३३/३४ सय पर्यटकहरु प्रतिदिन आगमन हुन्थ्यो । र, यस वर्ष महिना सुरू हुँदा ३ हजार माथि नै हाम्रो पर्यटकको आगमन संख्या थियो । यो घटनापछिको हप्तामा घटेर १६ सय पुगेको छ अर्थात् करिब ४५ प्रतिशतले घटेको देखिन्छ । आन्दोलपछिको पछिल्लो हप्तामा २३ सयको संख्यामा पर्यटक आएका थिए भने पछिल्लो हप्तामा २ हजार ९ सय पुगेका छन् ।’ अब स्थिति सहज भएको रिकभरीतर्फ जाने उनको अनुमान छ ।

पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रुपमा नेपाल भित्र्याउने कामलाई सघन ढंगले अघि बढाइएको बताए ।