
काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरामले सिंहदरबारको पुनर्निर्माणका लागि पाँच करोड रूपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने कि उपत्यकाभरिको भौतिक र प्रशासनिक क्षतिको उद्धार तथा पुनर्निर्माणमा यो रकम खर्च गरिनेछ। उनले उपत्यका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन एक करोड रूपैयाँ प्रदान गर्ने पनि जानकारी दिए ।
फोरमले हालैको ‘जेनजी’ आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र विभिन्न संरचनात्मक क्षतिलाई गम्भीरतापूर्वक लिएर, तोडफोडमा परेका प्रहरी चौकीहरु र स्थानीय निकायहरुको सेवा प्रवाह सहज बनाउन थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा फोरमले जनाएको छ कि आन्दोलनको नाममा अराजक समूहले नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामाथि नै प्रहार गर्ने गरी आगलागी र तोडफोड गरेकोले देशले आन्तरिक तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक प्रभाव भोगेको छ ।
यस घटनामा संलग्न अराजक कार्यकर्ता तथा समूहहरुको खोजी र छानबिन गरी कडा कानुनी कारबाही गर्न फोरमले सरकारसँग माग गरेको छ ।
फोरमले आगामी दिनमा प्रभावित क्षेत्रहरुको आवश्यक प्राथमिकताअनुसार पुनर्निर्माण तथा सुरक्षासम्बन्धी सहयोगलाई कार्यान्वयन गरेर समुदायमा पुनः स्थिरता ल्याउने लक्ष्य राखेको जानकारी पनि दिइयो।







प्रतिक्रिया