
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन् । उनले अनियमितता, लापरबाही र भ्रष्टाचार गरेको भन्दै कर्मचारीले प्रधानमन्त्री सुशीला कार्कीलाई निवेदन दिएका छन् ।
निवेदनमा उल्लेख भएअनुसार, प्राधिकरणबाट निलम्बन र बर्खास्त भइसकेका अधिकारी निगममै बसेर दोहन गरिरहेका छन् । कार्यकाल सकिँदै गर्दा उनले आफ्ना नजिकका व्यक्तिलाई करारमा नियुक्ति दिई ठूलो रकम असुल गरेको समेत आरोप लगाइएको छ ।
अधिकारीले दुई वाइडबडी जहाजको इन्जिन मर्मतका लागि करिब ८ अर्बको सम्झौता टेन्डर प्रक्रिया बिना रोल्स रोयस कम्पनीसँग गोप्य रूपमा सिंगापुरमा वार्ता गरेर गरेको कर्मचारीको आरोप छ ।
अन्तर्राष्ट्रिय टिकट बिक्रीमा निश्चित ट्राभल एजेन्सीसँग मिलेमतो गरेको र आवश्यक नभएका ठाउँमा समेत जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेर करोडौँ घोटाला गरेको दाबी गरिएको छ ।
एयरबस ३२० र ३३० जहाज समयमै मर्मत नगराउँदा महिनौँसम्म ग्राउन्डेड भएको र यात्रुलाई अन्य कम्पनीका जहाजमार्फत गन्तव्य पुर्याउनुपर्ने अवस्था आउँदा निगमलाई अर्बौं क्षति भएको जनाइएको छ । भाडामा ल्याइएको इन्जिन समयमै फिर्ता नगरी प्रयोग गर्दा दैनिक १० लाखभन्दा बढी घाटा भएको पनि कर्मचारीले बताएका छन् ।
चाइनिज जहाज फेजआउट भएपछि त्यहाँका पाइलटलाई अन्य जहाजमा व्यवस्थापन गर्न असफल भएको र आफूनिकटका व्यक्तिलाई छनोट समितिमा राखी करारमा नियुक्ति दिँदै रकम असुल गरेको गुनासो गरिएको छ ।
जेनजी कर्मचारीले उक्त निवेदनको प्रतिलिपि जेनजी अगुवा सुदन गुरुङ र मुख्य सचिव एकनारायण अर्याललाई समेत पठाएका छन् ।









प्रतिक्रिया