
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४.५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ ।
पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) बाट गन्तव्यमा पुग्न सकिनेछ ।
वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
साना गाडीको हकमा चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।
यसैगरी सानो गाडीको हकमा चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ ।
यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
यसैगरी मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।
यसैगरी ठूलो सवारी साधनको हकमा हेटौंडा-काठमाडौं आउजाउ गर्नका लागि कान्तिलोकपथ प्रयोग गर्न सकिने छ ।
यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार साँझ एक सूचना जारी गर्दै यो सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्था तथा यात्रुहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

स्थानीय प्रशासनले बाटोको अवस्था हेर्दै सकेसम्म आफ्नो ज्यान धरापमा राखेर अहिलेको अवस्थामा यात्रा नगर्न सुझावसमेत दिएको छ ।
यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।
यसका लागि आवश्यक सूचना तथा जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मोवाइल नम्बर) ९८५५०१३९९९०, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मोवाइल नम्बर) ९८५५०९२२००० र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मोवाइल नम्बर) ९८५५०९२२१८ लाई सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।








प्रतिक्रिया