नागढुङगा-मुग्लिन सडकमा फेरि ठूलो पहिरो, तत्कालै खुल्ने सम्भावना कम

644
Shares

काठमाडौं । काठमाडौंबाट बाहिरिने प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङगा–मुग्लिन सडक खण्ड गत शुक्रबारदेखि पटक पटक अवरुद्ध हुँदै आएको छ ।

तुइन खोलाको पुल नजिकै पहिरो खसेर गत शुक्रबारदेखि आइतबार साँझ साढे ४ वजेसम्म पूर्ण रुपमा अवरुद्ध भएको उक्त सडक खण्ड सोमबारसम्म दिनभर एकतर्फी सञ्चालन भए पनि मंगलबार बिहानदेखि पुनः विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको छ ।

मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला नजिकै ठूलो पहिरो गएर अवरुद्ध भएको उक्त सडक खण्ड अपराह्न त्यो स्थानको पहिरो पन्छाएर सञ्चालनमा आएको थियो ।

तर फेरि तुइन खोलानजिकै मंगलबार अपराह्न ४.५५ बजे ठूलो सुख्खा पहिरो खस्दा अनिश्चितकालका लागि उक्त सडक खण्ड बन्द भएको छ । सडक विभागले भने तुइन खोलाको पुल नजिकै खसेको ठूलो पहिरोलाई पन्छाएर बाटो सुचारु गर्न कम्तिमा दुई दिन लाग्ने जनाएको छ ।

दशैंमा घर जाने यात्रुसहितको सयौं सवारी साधन बिहानदेखि उक्त सडक खण्डमा अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरले उक्त स्थानमा निरन्तर रुपमा पहिरो गइरहेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।