
काठमाडौं । चाडपर्वको मुखमा उत्तरतिरका प्रमुख दुई नाफा बन्द भएपनि आयात भने गत वर्षको तुलनामा बढेको छ । भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो २ महिना (साउन र भदौ) मा ३ खर्ब ५ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक सार्वजनिक गरेको हो ।
वस्तु आयात गत आर्थिक वर्षको पहिलो २ महिनाको आयातको तुलनामा १६.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षका साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
२३ र २४ भदौमा जेन जी युवाहरुले गरेको आन्दोलनका कारण करिब एक साता वैदेशिक व्यापार प्रभावित बनेको थियो । त्यसका बाबजुत पनि गत वर्षको तुलनामा आयात र निर्यात दुबैमा वृद्धि भएको भन्सार विभागको तथ्यांक छ । अन्य समयको तुलनामा चाडपर्वको बेला नेपालको आर्थिक गतिविधि बढ्ने र सोही कारण आयात समेत बढ्ने गरेको छ । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा अगाडि सरेर असोजको पहिलो साताबाट नै दशैं सुरु भएको छ । जसले गर्दा यो वर्ष दशैं लक्षित वस्तुहरुको आयात आयात अगाडि नै हुँदा भदौमा आयात केही बढेको हो । तर, जेन जी आन्दालनका कारण चाडपर्वको व्यापार प्रभावित भएको छ ।
विशेष गरी अटो क्षेत्रमा चाडपर्वको समयमा ठूलो आकर्षण देखिने भएपनि यो वर्ष त्यस्तो अवस्था देखिँदैन। भन्सार बढ्ने चर्चाले १५ जेठ अगाडि नै ठूलो संख्यामा आयात भएको विद्युतीय गाडीको स्टक बाँकी रहेको र पछिल्लो २ महिनामा चीन तिरको दुबै नाका बन्द भएको २ महिना भइसकेको कारण योपटक दशैं तिहार अगाडि चीन तिरबाट ठूलो संख्यामा आयात हुने विद्युतीय गाडीको आयात घटेको छ । यस्तै दशैं अगाडि नै जेनजी प्रदर्शनले अटो क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो । साथै दशैंका लागि बुक भएका गाडिको बुकिङ समेत रद्द भएका कारण भदौमा अपेक्षा गरिएको आयात बढ्न सकेन ।
साउनमा १ खर्ब ४३ अर्ब ४ करोडको वस्तु आयात भएकोमा भदौमा १ खर्ब ६२ अर्ब ११ करोडको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ३४ अर्ब १७ करोडको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको भदौमा गत वर्षको तुलनामा आयात करिब २८ अर्ब रुपैयाँले बढेको छ ।
आयात मात्रै नभएर वस्तु निर्यात समेत उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्षको २ महिनामा कुल वस्तु निर्यात ४७ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु निर्यात भएकामा चालु आर्थिक वर्षको यस अवधिमा निर्यात ८८.५७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यातको तुलनामा आयातको हिस्सा धेरै ठूलो रहेकाले निर्यात उच्च दरमा बढ्दा पनि आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.७२ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ । यस्तै आयातको हिस्सा ९१.२८ प्रतिशतबाट घटेर ८६.५८ प्रतिशतमा झरेको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको पहिलो २ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा कुल निर्यातको तुलनामा आयात १०.४६ प्रतिशत थियो । चालु आर्थिक वर्षको २ महिनामा यस्तो अनुपात घटेर ६.४५ गुणामा झरेको छ । अर्थात् निर्यातभन्दा ६.४५ गुणा बढीले वस्तु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
जसले गर्दा निर्यात ८८.५७ प्रतिशतले वृद्धि भएर आयात १६.२३ प्रतिशत मात्रै बढे पनि नेपालको वैदेशिक व्यापार घाटा भने ८.२९ प्रतिशतले बढेर साउन र भदौमा २ खर्ब ५७ खर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको यहि अवधिमा व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।
आयात र निर्यात दुबैमा वृद्धि हुँदा साउन र भदौको कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुगेको हो ।
दुई महिनामा डिजेल पेट्रोल, एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थ ४५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै जनावरको बोसो र वनस्पति घ्यु सोयाबिन तेल, सुर्यमुखी तेल, पाम तेल लगायका वस्तु २७ अर्ब ४१ करोड २१ लाखको आयात हुँदा स्टिल तथा पलामका वस्तु २२ अर्ब ९७ करोड ५३ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
विद्युतीय औजार तथा उपकरण र मेसिनरी लगायत तिनका पाटपुर्जा २२ अर्ब १६ करोड ९१ रुपैयाँ बराबरको आयात भएको छ । निर्याततर्फ जनावरको बोसो र वनस्पति घ्यु सोयाबिन तेल, सुर्यमुखी तेल, पाम तेल लगायका वस्तु २३ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । ४७ अर्बमध्ये करिब आधा निर्यात हिस्सा सोयाबिन,पान र सुर्यमुखी तेलको देखिन्छ । यी वस्तुहरु करिब साढे २७ अर्बको आयात र साढे २३ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।
यस्तै हातबाट निर्माण गरीको फाइबर २ अर्ब १ करोड २२ लाख रुपैयाँ, कफी, चिया र मसला लगायका वस्तुहरु १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षका २ महिनामा वस्तु आयात गर्दा ७७ अर्ब ६३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ७४ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।







प्रतिक्रिया