जेनजी प्रदर्शनपछिको विक्षिप्त अवस्थाबाट अर्थतन्त्र उकास्न निजी क्षेत्रले अघि सारेका विकल्प

203
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटोको रुपमा रहेको निजी क्षेत्र त्रासमा छ । अन्य नागरिक र सम्पत्तीको सुरक्षा दिने प्रहरीमाथि नै जेनजी प्रदर्शनकारीले हमाला गरेपछि धेरैले असुरक्षाको महसुस गर्दै आएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिहरुले हिजोका दिनमा आर्थिक सुरक्षा मात्रै राज्यबाट प्रदान हुनुपर्नेमा अब भने भौतिक सुरक्षा पनि महत्वपूर्ण भएको धारणा राख्दै आएका छन् । जेनदी प्रदर्शनका कारणले आन्तरिक तथा बाह्य लगानीको वातावरणमा असर परेको छ भने अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको छविमाथि प्रश्न उठेको छ ।

यस्तो, अवस्थामा बाह्य लगानी निकै कठिन भएको भने आउन तयार भएका लगानीको पनि फिर्ता हुन थालेको गुनासो उद्योगि व्यवसायीले गरिरहेका छन् । निजी क्षेत्र मात्रै नभएर सरकारी सम्पत्तीमा पनि ठूलो असर परेकाले आगामी दिनमा कसरी त्यसलाई पुननिर्माण गरेर अगाडि बढ्ने भन्ने अन्यौलता छ ।

अहिले, मुलुकको अर्थतन्त्रलाई कसरी सही लयमा राख्दै पुननिर्माणमा जुट्ने भन्ने प्रश्न पनि उठिरहेका छ । आर्थित गतिविधिमा नकारात्मक असर परेको, निजी क्षेत्रमा त्रास फैलिएको र उद्योग व्यवसायीमा पनि ठूलो क्षति भएकाले अब सरकार तथा निजी क्षेत्र कसरी अगाडि बढ्छन् भन्ने विषय महत्वपूर्ण छ ।

तर, व्यवसायीले सरकारबाट सहजीकरण भए उद्योग व्यवसायलाई पुरानै लयमा फर्काउन समय नलाग्ने बताउँदै आएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरात्थोनको आगामी बाटो विषय’ अन्तरक्रिया कार्यक्रममा अधिकांश निजी क्षेत्रका प्रतिनिधिले यहि धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अहिले उद्योगी व्यवसायीका लागि सबैभन्दा ठूलो चुनौति सुरक्षा भएको बताए । ‘हामीलाई व्यवसाय अगाडि बढाउन भन्दा पनि सुरक्षा कसरी प्राप्ति गर्ने भन्ने विषय अहिलेका लागि मुख्य भएको छ,’ ढकालले भने, ‘आगामी दिनमा फेरि यस्तो किसिमको क्षति पुग्दैन भन्ने विश्वस्त वातावरण नबनेसम्म यसको असर रही रहन्छ । अहिले एक ठाउँमा मात्रै नभएर जिल्ला जिल्लामा निजी क्षेत्रको व्यवसाय कसरी अगाडि बढाउने भन्ने चुनौति हाम्रो सामू छन् ।’

उनले जेनजीहरुको माग बमोजिम निजी क्षेत्रपछि पनि थप संयमित भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताए । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनको भनाइ थियो ।

‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ,’ उनले भने, ‘अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ । प्रदर्शनीपछि लगानी ल्याउने विषय झनै चुनौतिपूर्ण बनेको र बाहिरबाट आउन लागेको लगानीसमेत फिर्ता गइरहेको गुनासो आएको उनले सुनाए ।

नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा भएको झन्झटिलो सरकारी संयन्त्र र ढिलासुस्तीले युवामा निरासा पैदा भएको बताए । मुलुकमा ठूलो जनधनको क्षति भएपछि अब आईटी र एआईमा उच्च सम्भावना भएको विषयलाई नियाँलेर सोही अनुसार अगाडि बढ्नुपर्ने सुझाव उनको छ ।

‘नेपालको कृषिमा प्रचुर सम्भावना रहेका छ । विकसित मुलुकमा जस्तै नेपालमा पनि युवाहरुलाई पार्ट टाइमको काम दिएर यो क्षेत्र अगाडि बढाउनुपर्छ,’ मल्लले भने, ‘जेनजी प्रदर्शनले पर्यटनमा पनि ठूलो असर परेकाले यसलाई सुधार गर्ने काममा ढिला गर्नु हुँदैन ।’

उनले नेपालमा औपचारिक भन्दा पनि अनौपचारिक अर्थतन्त्रको आकार ठूलो भएकाले यसलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न जरुरी रहेको बताए । अहिले भएको क्षतिबाट हामी रिकभर हुनका लागि तीन चार वर्षको विकास बजेटले नभ्याउने उल्लेख गर्दै मल्लले मुलुक करिब छ सात वर्ष पछाडी धकेलिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेश पलायन रोक्ने योजना ल्याउन नसकेको खण्डमा अबको केही वर्षमा यो विदेशीने दर थप १० प्रतिशत बढीले वृद्धि हने बताए । ‘हिजोका दिनमा देशमा भुकम्प, कोरोना महामारी जस्ता समस्या आए । तर, अहिलेको समस्या भने बेग्लै किसिमको छ । यस्तो, अवस्थामा केन्द्रीय बैंकले पनि लोन टू भ्यालू रेसियो बढाउनुपर्ने देखिन्छ,’ मल्लले भने, ‘यस्तो गरेमा मात्रै हामी पुनर्संरचनामा जान सक्छौं । अहिलेको अवस्थामा बेस रेटमा कर्जा प्रदान पनि ठूलो सहुलियत मिल्छ ।’

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीले जेनजीको प्रदर्शनले देखाएकै किसिमको आक्रोस वर्षौंदेखि व्यवसायीमा रहेको बताए । स्वच्छरुपमा भनेका कुरा पनि सम्बोधन नहुँदा उद्योगि व्यवसायीमा लामो समयदेखि असन्तुष्टि पैदा भएर रहेको उनको भनाइ छ ।

‘कसैलाई केन्द्रीत गरी–गरी जुन किसिमले आगजनी तथा तोडफोड गर्ने काम भयो त्यसको नाडाले घोर भत्र्सना गर्दछ । अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको राजस्व संकलन हो,’ अध्यक्ष चौधरीले भने, ‘यस्तो, अवस्थामा राजस्व कहाँबाट कसरी संकलन गर्ने भन्ने प्रश्न खडा भएको छ । जसमा सरकारले पनि उतिकै ध्यान दिनुपर्ने देखिन्छ ।’

उनले अटो मोबाइल बजारको वर्ष भरीको व्यापार मध्ये करिब ६० प्रतिशत भन्दा बढी व्यापार हुने दशैंको समयमा नै व्यापार हुन नसकेको गुनासो पोखे । लगानीको वातावरणको कुरा गर्दा पनि सुरक्षाको विषय प्रमुख हुने उनको भनाइ छ ।

ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेनजी प्रदर्शनले भ्रष्टाचारको विरुद्धमा उठाएको आवाज सुनेर निजी क्षेत्रले पनि सुध्रिन आवश्यक भएको बताए । भ्रष्टाचारलाई बढोत्तरी दिने काममा निजी क्षेत्रले कहाँनेर सहयोग गरेको छ भन्ने केलाएर त्यसबाट पछि हट्न आवश्यक भएको उनको भनाइ छ ।

‘सरकार जिम्मेवार नभएका कारणले नै मुलुकमा समस्या पैदा भएको हो । हाम्रो संयन्त्रले उत्तरदायी बनेर काम गरेको भए युवामा यस्तो निराशा छाउँदैन थियो,’ पाण्डेले भने, ‘अब, यसलाई परिवर्तन गर्न जरुरी छ ।’ बहुदल आएदेखि हालसम्म नेपालमा पर्यटनको अवस्थामा सुधार आउन नसकेको बताए । नेपालको भन्दा कम सम्भावना भएका मुलुकले पर्यटनमा राम्रो प्रगति गर्दा नेपाल भने सामान्य वृद्धिमा नै सन्तुष्ट भएर बस्नुपर्ने अवस्था बनेको उनको भनाइ छ ।

अधिवक्ता सेमन्त दाहालले हालको अवस्थाबाट मुलुकलाई उठाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावलाई सरकारले अपनत्व लिएर अगाडि बढ्नुपर्ने बताए । त्यसमा भएका बुँदाहरुलाई हेरेर तत्कालै सम्बोधन गर्न सकिने, अबको ६ महिनामा सम्बोधन गर्न सकिने र एक वर्ष वा दुई लाग्ने भनि छुट्याएर काम थाल्नुपर्ने उनको भनाइ छ । हिजोका दिनमा आर्थिक सुरक्षाका विषय मात्रै रहेकोमा अब भने भौतिक सुरक्षाको ग्यारेन्ट पनि चाहिने अवस्था बनेको उनले उल्लेख गरे ।

नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र वैद्यवारले हालको क्षतिबाट सरकारी संरचनाको बिमा गराउनुपर्छ भन्ने विषय बुझ्न आवश्यक भएको बताए । ‘जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले करिब ८० अर्बको क्षति भएको आँकलन गरेको छ । अझ, यसमा सरकारी संरचनाको हिसाब गरिएकै छैन,’ वैद्यवारले भने, ‘बिमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म २२ अर्ब २५ करोडको बिमा दाबी परेको छ ।’

उनले यसरी हेर्दा कुल क्षति भएको संरचना मध्ये करिब १२ देखि १३ प्रतिशत हाराहारी मात्रै बिमाको दायरामा समेटिएको देखिएको बताए । उनले जेनजी प्रदर्शनबाट पुगेको क्षतिको बिमा दाबी तत्कालै भुक्तानी दिने समेत बताए ।
नेपाल बिमक संघका अध्यक्ष एवं सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले अब संसारभर प्रचलनमा रहेको बैंकाइन्स्योरेन्स सम्ममा अबको ध्यान पुर्याउनुपर्ने बताए ।

‘०७२ सालको भुकम्पको समयमा पनि बिमा कम्पनीले सहज ढंगमा भुक्तानी दिए । अब जेनजी प्रदर्शनबाट भएको क्षतिको भुक्तानी पनि हामीले गछौं भनेर प्रतिवद्धता दिइसकेका छौं,’ क्षेत्रीले भने, ‘संसारभर चलेको बैंकाइन्स्योरेन्स पनि नेपालको हकमा भने अगाडि बढ्न सकेको छैन । यसमा अब अगाडि बढ्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताए । ‘जेनजी प्रदर्शनले हाम्रोमा भौतिक क्षति ठूलो मात्रामा भएको छ । यस्तो क्षति यो भन्दा पहिला कहिले पनि भएको थिएन । आर्थिक। हिसाबमा क्षति भन्दा यसको प्रभाव झनै ठूलो छ,’ थापाले भने, ‘यद्यपि, सरकारले वित्तीय स्थिति बिग्रिन नदिन केही प्याकेजहरु दिने घोषणा गरिसकेको छ । अब सरकारले यी कुराहरुलाई निरन्तरता दिँदै आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने आवश्यक छ ।’

उनले केन्द्रीय बैंकको ऐनमा भएको व्यवस्था बमोजिम ओडी लिएर पुननिर्माणमा लाग्दा उचित हुने सुझाए । अबको मुख्य विषय स्रोत व्यवस्थापन भएकाले अहिले सरकार ओडी लिएर पुननिर्माणमा जुट्नुपर्ने उपयक्त समय भएको उनको भनाइ छ । ओडी लिएर पुनर्निमार्ण गर्दा यसले सार्वजनिक ऋण नबढ्ने र विदेशी मुद्रा सञ्चितिमा पनि असर नपर्ने धारणा थापाले राखे ।

‘बाहिरबाट पुँजी ल्याउने काममा पनि सरकार अग्रसर हुनुपर्नेछ । विश्व बैंकसँग कुरा गरेर एसएमई र आईटी क्षेत्रमा लगानी भित्र्याउने काममा अगाडि बढ्न सकेमा मुलुकका लागि थप राम्रो हुन्छ,’थापाले भने, ‘पर्यटन क्षेत्रमा पनि यहि किसिमको नीति अपनाउन सकिन्छ । यसरी, बाहिरको लगानी भित्र्याउन सकेमा हाम्रो अन्तर्राष्टिय इमेज पनि राम्रो देखिन सहयोग पुग्छ ।’ उनले सरकार पुननिर्माण, आर्थिक सुधार, संस्था सबलीकरण, लगायत काममा अगाडि बढ्न आवश्यक भएको बताए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताए । उनले, जेनजी प्रदर्शपछि खासगरी निजी क्षेत्रको मनोबल कमजोर बनेकाले त्यसलाई उकास्न कर्जा पुनर्संरचना÷पुनर्तालिकिकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने उल्लेख गरे ।

‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो । तरलता पर्याप्त भएको र ब्याज पनि न्यून छ भने लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण पनि छ । यसरी हेर्दा हामी धेरै समस्यामा छैनौं,’ खरेलले भने, ‘कोरोना महामारीपछि आईटी क्षेत्रमा सुधार भए जस्तै अब कुन क्षेत्रमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयलाई हेरेर जानुपर्ने आवश्यक्ता छ ।’

उनले, विगतका क्षतिपछि कसरी पुननिर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भएपनि अहिले आजकै दिनमा खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताए । अर्कोतर्फ, लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उनको भनाइ छ । यसले भौतिक संरचनाको पुननिर्माण सहज हुने खरेलको दाबी छ ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताए । भुकम्पपछि धेरै युवाहरुको सहयोग रहे जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नु धारणा राखे । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जेनजी प्रदर्शनको क्षतिबाट माथि उक्लिन सरकार निजी क्षेत्रसँग मिलेर राहत र सहुलियत प्याकेज, सुरक्षा र सुशासनमा केन्द्रित हुने बताए ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरुले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राखे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने उल्लेख गरे ।