४७ घण्टापछि नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

98
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड करिब ४७ घण्टापछि आइतबार अपराह्नदेखि एकतर्फी रुपमा खुलेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पुल नजिकै शुक्रबार साँझ ६.३० बजेदेखि भीषण पहिरो खस्न सुरु भएका कारण उक्त सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सुरक्षाकर्मी, सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय भरतपुरलगायतको संयुक्त प्रयासमा अबरुद्ध भएको सडक ४७ घण्टापछि एकतर्फी रुपमा सुचारु गराइएको छ ।

एकतर्फी रुपमा सडक सुचारु भएपछि सवारी चालक र यात्रुहरु खुशी भएर घर फर्किन थालेका छन् ।

शुक्रबारदेखि नै पहिरो नियन्त्रण गर्ने प्रयास सुरु गरिएपनि सडकमा सफा गर्दैगर्दा आज दिउँसोसम्म स साना पहिरो जाने क्रम जारी थियो । यसले गर्दा ढुङगामुढा, गेग्रान र लेदोसहित आएको पहिरोले उक्त खण्डमा १०० मिटरभन्दा बढी भाग सडक छोपेको थियो ।

सडक विभागमा उपमहानिर्देशक प्रभातकुमार झाका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको थियो । शनिबार बिहान करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झर्नुका साथै थप १६० मिटर लामो, १० मिटर चौडा र १६ मिटर उचाईमा पहिरो गएको थियो ।

पहिरो खसेर अवरुद्ध भएको सडकका कारण दशैं मनाउन घर फर्कने करिब २ हजार लामो दूरीको ठूला, साना सवारी साधनमा रहेका १० हजारभन्दा बढी यात्रुहरु गत शुक्रबार साँझदेखि उक्त स्थानमा अलपत्र परेका थिए । यस्तै बाहिरी जिल्लाबाट काठमाडौं आउँदै गरेका हजारौं यात्रुहरु पनि अलपत्र परेका थिए ।

सडक अवरुद्धका कारण पेट्रोल लोड भएका १२३ र डिजेल लोड भएका ११० वटा ट्याँकर पनि उक्त सडक खण्डमा अलपत्र भएका थिए । ति ट्याँकरहरु थानकोट डिपोको लागि आउँदै गरेको थियो ।

पहिरो जाने स्थानमा मुग्लिङ र नारायणघाटतर्फबाट पन्छाइएको थियो ।