टेलिफोन कुराकानीपछि मोदीले भने- स्थिरता पुनःस्थापना गर्ने सुशीलाको प्रयासमा भारतको समर्थन

371
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज भएको सो कुराकानी करिब २० मिनेटसम्म चलेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीसँगको टेलिफोन संवादबारे सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
मोदीले पछिल्लो समय नेपालको शान्तिपूर्ण संक्रमणमा सफलता मिलेकोप्रति खुशी व्यक्त गरे । उनले लोकतान्त्रिक प्रक्रिया, पुनर्निर्माण र विकासमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग हार्दिकतापूर्ण कुराकानी गरें । हालैको दुःखद घटनामा ज्यान गुमाएप्रति गहिरो समवेदना प्रकट गरें र शान्ति तथा स्थिरता पुनःस्थापना गर्ने उनको प्रयासमा भारतको अटल समर्थन रहने पुनः पुष्टि गरें,’ मोदीले लेखेका छन्, ‘ साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उनलाई र नेपाली जनतालाई हार्दिक शुभकामना पनि व्यक्त गरें।’