
काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् ।
महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले बिहीबार वागदरबारमा पत्रकार सम्मेलन गर्दै आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको बताए ।
२४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको उनले बताए ।
राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुईवटा दमकल लगेर आगो निभाएको उनले स्पष्ट पारे ।
नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ । भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनको भनाइ छ ।
दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको उनको भनाइ छ ।
सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको उनको भनाइ छ ।
महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको उनले बताए ।
महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताए ।








प्रतिक्रिया