सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

210
Shares

काठमाडौं । नौ कारोबार दिनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट लागेको छ ।

बिहीबार बजार खुल्नसाथ सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ । बिहीबार कारोबार खुलेको दोस्रो मिनेटमा नै चार प्रतिशतले नेप्से घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।

कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ । त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।

यसअघि, नेप्से प्रिओपन सेसनमै ३४ अंकले घटेको थियो । प्रिओपन सेसनमा नेप्से ३४.२७ अंक अर्थात् १.२८ प्रतिशतले घटेर २६३७.९७ बिन्दुमा कायम भएको थियो ।

खासगरी, भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर सेयर बजारमा देखिएको हो ।