
काठमाडौं । भोटेकोशी नदीको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुवेसी– रसुवागढी सडक खण्ड पुनः सञ्चालनमा ल्याउन सरकारले नयाँ ट्रयाक खोल्न सुरु गरेको छ ।
सडक विभागले सडक सञ्चालनमा ल्याउन कटान क्षेत्रमा नयाँ ट्रयाक खोल्न सुरु गरेको छ । ट्रयाक खोल्ने क्रममा विभागको एक्साभेटर समेत पहिरोमा परेको थियो । कटान भएको तातोपानी र टिमुरेमा नयाँ ट्रयाक खोल्ने कार्यलाई गति दिइएको विभागका उपमहानिर्देशक प्रभात झाले जानकारी दिए ।
उनका अनुसार जटिल भूगोल तथा वर्षाको कारण ट्रयाक खोल्न कठिनाइ भए पनि अबको १० दिनमा ट्रयाक खोलेर पहिलेकै अवस्थामा यातायात सञ्चालन गर्ने गरी युद्धस्तरमा काम भइरहेको छ ।
गत असार २४ गते बिहान भोटेकोशीमा आएको भीषण बाढीका कारण गल्छी–त्रिशुली–मैलङ–स्याफ्रुवेसी–रसुवागढी सडकको १६ किलोमिटर दूरीको विभिन्न १० स्थानमा १ हजार ३ सय मिटर सडक कटान भएको थियो । लगत्तै साउन १४ गते पुनः आएको बाढीले यो सडक खण्डको थप ५ स्थानमा थप ६०० मिटर गरी १ हजार ६ मिटर सडक कटानमा परेको थियो ।
सडक कटानमा परेकाले साउन १४ गतेदेखि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा आउन सकेको छैन । गत असार र साउनमा आएको बाढीको भेलले मेदामुदुङ, कुलुङ, तातोपानी क्षेत्र, टिमुरे, चेकपोस्टलगायतका स्थानमा सडक कटान गरेको थियो ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका हुन् ।
उक्त सडक खुलाउन विभागका महानिर्देशकलाई निर्देशन दिएको जानकारी दिए ।
‘मन्त्रीज्यूले वडाध्यक्षसँगको छलफलपछि सडक विभागका महानिर्देशकलाई तत्काल फोन गरेर आवश्यक परे आफैँ फिल्डमा जान र जसरी पनि सडक खुलाउन निर्देशन दिनुभएको छ । दसैँको बेलामा यसरी नाका बन्द गर्नुहुँदैन, तुरुन्तै यो जसरी हुन्छ खोल्नुपर्छ भन्ने उहाँको निर्देशन छ,’ मन्त्रालय सचिवालयले भन्यो, ‘गत साउन १८ गतेदेखि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी खण्ड (इको पहिरो) मा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।’
सडक डिभिजन चरिकोटले मर्मत गरी गत भदौ ५ गते एकतर्फी सञ्चालनमा ल्याएको थियो । भदौ ५ गतेदेखि ८ गतेसम्म मात्रै सञ्चालनमा आएको यो सडकको विभिन्न स्थानमा पहिरो गएर पछिल्लो समयमा पूर्ण रुपमा बन्द छ ।
दशैं लगायतका चाडपर्व नजिकिएका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द भएको र सर्वसाधारणको आवागमनमा ठूलो समस्या परेको छ ।
एक महिनादेखि चीनतर्फ १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेका छन्, जसले उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पाउन कठिनाइ भएको छ । धेरै मानिसहरू भरियाको सहयोगमा सामान ढुवानी गर्न बाध्य भएका छन् ।
चरिकोटस्थित सडक डिभिजन कार्यालयका अनुसार कोदारीस्थित इको पहिरो पुरानो र ठुलो भएकाले समस्या जटिल छ । पहिरोको माथिल्लो भागमा मानव बस्ती जोखिममा रहेकाले काम गर्न चुनौती भएको र तलपट्टि पर्खाल लगाउन पनि कठिन भएको अधिकारीहरूले बताएका छन् । लेदोसहितको पहिरो खसिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।
यसको दीर्घकालीन समाधानका लागि ग्याबिन पर्खाललगायतका संरचना निर्माण गर्ने र नयाँ डिजाइनअनुसार काम गर्ने विषयमा पनि छलफल भइरहेको छ । मन्त्री घिसिङले सडक निर्माणको दीर्घकालीन योजनाका लागि सरकारले सम्बोधन गर्ने बताउँदै तत्काल दशैं अगाडि सडक खुलाउनुपर्नेमा जोड दिएको सचिवालयको भनाइ छ ।







प्रतिक्रिया