जेनजी आन्दोलनमा भएको लुटपाटको भिडियो राख्न र हेर्न सकिने ‘लुट रिपोर्ट एप’ सञ्चालनमा

7.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका लुटपाट, आगजनी र तोडफोडका घटनाबारे सूचना संकलन र दस्तावेज बनाउन ‘लुट रिपोर्ट’ नामक एप सञ्चालनमा आएको छ ।

प्रयोगकर्ताले आफ्नो नाम नखुलाइ loot-report.lovable.app मा आन्दोलनका क्रममा भएका गतिविधिका भिडियो अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

भदौ २३ र २४ मा भएका घटनापछि सुरु गरिएको यस एपमा समाचार लेख्ने बेलासम्म १ हजार ९१६ भिडियो अपलोड भइसकेका छन्। यसलाई ‘कम्युनिटी पावर रिपोर्टिङ सिस्टम’ भनेर प्रस्तुत गरिएको छ, जसले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र निगरानी गर्न सहयोग गर्ने भनिएको छ।

एपमा राखिएको परिचयमा भनिएको छ, ‘हालै देशले तोडफोड, जेल तोडेर भाग्ने, लुटपाट र हिंसा जस्ता अस्तव्यस्त परिस्थितिहरू सहनुपर्‍यो। ती क्षणहरू हामी बिर्सन चाहन्नौं। यो कम्युनिटी पावर एप हो, जहाँ जो–कोहीले घटनासम्बन्धी भिडियो लिंक राख्न सक्छन्। यसको उद्देश्य केवल घटनाको दस्तावेजीकरण गर्ने हो, दोषी ठहर गर्ने होइन।’

भिडियोमा देखिएका व्यक्तिहरूलाई दोषी ठहर नगरिने भन्दै यो केवल ‘के भयो’ भन्ने अभिलेख भएको र यसलाई भविष्यमा सरकारी निकाय वा न्यायिक प्रणालीले संलग्न व्यक्तिको पहिचान गर्न र उनीहरूलाई उत्तरदायी बनाउन प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

Skip This