एक महिनामै करिब ४ अर्बले बढ्यो सेयर धितो कर्जा

98
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर धितो बढेको छ । जुन गत असार मसान्तको तुलनामा २.७ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म भने यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ थियो ।

तथ्यांकअनुसार साउन सम्ममा एक करोड रुपैयाँ भन्दा बढीको सेयर धितो कर्जा प्रवाह १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । साउन महिनामा मात्रै २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बराबरको एक करोड माथिको सेयर धितो कर्जा प्रवाह भएको छ ।
यस्तै, असारसम्मको तुलनामा साउन महिनामा ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा २.७ प्रतिशतले घटेर १७ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

२५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा भने ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।