सेयर कर्जा एक वर्षमै आधा खर्बले बढ्यो: माछापुच्छ्रे र कुमारी एग्रेसिभ, नबिलको धेरै


काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी उल्लेख्य मात्रामा बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आईपुग्दा ५० अर्ब (५६.१७ प्रतिशत)ले बढाएर कुल लगानी १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुराएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष फाइनान्स कम्पनीले मात्रै सेयर धितो कर्जाको लगानी ४.२७ प्रतिशतले बढाएका छन् । अघिल्लो आर्थिक वर्ष ४ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म आईपुग्दा बढाएर कुल ४ अर्ब ३५ रुपैयाँ पुराएका छन् ।

यस्तै, सेयर धितो कर्जामा अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका विकास बैंकहरुले गत वर्षको सोही अवधिमा आईपुग्दा २५.३१ प्रतिशतले बढाएर १९ अर्ब ५४ करोड रुपैयाँ पुराएका छन् ।

अघिल्लो आर्थिक वर्षमा ७० अर्ब ३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वाणिज्य बैंकले गत आर्थिक वर्षसम्म आईपुग्दा ६६.०५ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुराएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो कर्जा प्रवाह सर्वाधिक बढाउने माछापुच्छ्रे बैंक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड रुपैयाँ लगानी गरेको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ४४२.१० प्रतिशतले बढाएर २ अर्ब ५३ करोड रुपैयाँ पुराएको छ ।

यस्तै, अघिल्लो आर्थिक वर्ष २० करोड रुपैयाँ लगानी गरेको नेपाल एसबीआई बैंकले गत वर्षको अन्त्यसम्म आईपुग्दा २०७.१५ प्रतिशतले वृद्धि गर्दै ६१ करोड रुपैयाँ लगानी पुराएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कृषि विकास बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा १९२.६६ प्रतिशतले, एनएमबी बैंकले १४४ प्रतिशतले, लक्ष्मी सनराइजले १४३ प्रतिशतले र कुमारी बैंकले १३८.४१ प्रतिशतले बढाएका छन्।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असारसम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नबिल बैंकले सर्वाधिक १६ अर्ब ७६ करोड, ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड, कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ ।