निरन्तर बढ्दै सेयर कर्जा: नेप्से सूचक र कारोबारमा छैन ‘रिफ्लेक्सन’

441
Shares

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म सेयर लगानीकर्ताले ९० अर्ब ९ करोड रूपैयाँ सेयर धितो कर्जा लिएकामा १० महिनामा अर्थात् २०८२ वैशाख आइपुग्दा ३५ अर्बले बढेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो ।

२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ८० अर्ब ५१ करोड र २०८० असार मसान्तसम्म ७६ अर्ब ५४ करोड रूपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह भएकामा २०८१ असार मसान्तमा आइपुग्दा ९० अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । २०८१ असारबाट थप ३५ अर्बले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्रै सेयर धितो कर्जा करिब डेढ अर्ब रुपैयाँले बढेको देखिन्छ । २०८१ चैत मसान्तसम्ममा १ खर्ब २४ अर्ब १२ करोड बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा गरेको कुल लगानी मध्ये वाणिज्य बैंकले मात्रै १ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

गत असार मसान्तसम्म १५ अर्ब ५९ करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेका विकास बैंकले वैशाख मसान्तसम्म आइपुग्दा बढाएर १८ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएका छन् । वैशाख मसान्तसम्म आइपुग्दा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा फाइनान्स कम्पनीहरूको कुल लगानी ४ अर्ब २१ करोड पुगेको छ । गत असारसम्म भने फाइनान्स कम्पनीहरूको यस्तो लगानी ४ अर्ब १५ करोड थियो ।

करोड बढी कर्जा लिने ह्वात्तै बढे

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा १ करोडभन्दा बढी सेयर धितो कर्जा लिनेक्रम बढेको देखिन्छ । तथ्यांकअनुसार २०८१ असारमा ५५ अर्ब ९३ करोड २ लाख रूपैयाँबराबरको १ करोड माथिको सेयर धितो कर्जा प्रवाह भएकामा २०८२ वैशाख मसान्तमा आइपुग्दा ५३.३ प्रतिशतले बढ्दै ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा २१.१ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ पुगेको छ भने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १५.३ प्रतिशतले बढेर १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, २५ लाख रुपैयाँसम्मको लगानी भने सबैभन्दा कम १०.०८ प्रतिशते बढेर ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ पुगेको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो समीक्षाबाट ५० लाखभन्दा बढी सेयर धितो कर्जामा रहेको १५० प्रतिशत जोखिमभार १२५ प्रतिशतमा झारिएको थियो ।

त्यसपछि, २०८० असोजमा केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै १२ करोडसम्मको सेयर कर्जाको सीमालाई व्यक्तिगत तर्फ १५ र संस्थागत तर्फ २० करोड कायम गर्‍यो । यसपछि, आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोड रुपैयाँको हटाइएको थियो भने व्यक्तिगत तर्फको १५ करोडको सीमा यथावत् राखिएको थियो ।

साथै, सेयर धितो कर्जामा कायमै रहेको १२५ प्रतिशतको जोखिमभार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ । यसरी, हरेक नीतिगत परिवर्तन हुँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको लगानी पनि सोही ढंगमा परिवर्तन हुँदै गएको देखिन्छ । संस्थागततर्फको सीमा खुला गरेसँगै १ करोड रूपैयाँ भन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जामा उच्च वृद्धि भएको देखिन्छ ।

कुन बैंकको कति लगानी?

२०८१ वैशाखमा वाणिज्य बैंकहरुले कुल ७० अर्ब ३४ करोड लगानी गरेकोमा २०८२ वैशाख मसान्तमा आईपुग्दा ४६.६२ प्रतिशतले बढाएर १ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ पुराएका छन् । यस अवधिमा एनआईसी एसिया बैंक बाहेक अन्य सबै कम्पनीले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगानी बढाएको देखिन्छ ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सर्वाधिक लगानी गर्ने बैंक नबिल हो । २०८१ असार मसान्तसम्म ११ अर्ब ४२ करोड लगानी गरेको बैंकले १० महिनामा २७.७० प्रतिशतले बढाएर २०८२ वैशाख मसान्तमा १४ अर्ब ५९ करोड पुर्‍याएको छ । तथ्यांकअनुसार २०८२ वैशाख मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले सेयर धितोमा ११ अर्ब ५९ करोड लगानी गरेको छ भने कुमारी बैंकले तेस्रो धेरै ९ अर्ब ५७ करोड कर्जा दिएको छ ।

गत वर्षको वैशाखसम्म ३ अर्ब ९६ करोड लगानी गरेको एआईसी एसिया बैंकको यस्तो प्रकृतिको कर्जा ४५ प्रतिशतले घटेर २ अर्ब १७ करोडमा सीमित भएको छ । गत वर्षको वैशाखसम्म ४६ करोड लगानी गरेको महालक्ष्मी बैंकले यस अवधिमा ३०६ प्रतिशतले बढाएर १ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याएको छ ।

कर्जा बढ्दा पनि बजार भने संकुचित

सेयर धितो कर्जा निरन्तर बढ्दा पनि सेयर बजारमा भने त्यो किसिमको रौनक देख्न सकिँदैन । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लामो समयदेखि २६०० विन्दु वरीपरी घुमिरहेको छ भने कारोबार रकम पनि धेरै मात्रामा हुन सकेको छैन । अझ भनौं, सेयर धितो कर्जा जुन मात्रामा गइरहेको छ सो अनुरुपको प्रक्रिया सूचक र कारोबार दुवैमा देख्न सकिँदैन ।

२०८२ वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रूपैयाँ कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड थियो । नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) पुगेको थियो । त्यसपछि, गत (२०८१) साउन ३१ गते ३०००.८१ विन्दुमा पुगे पनि सोभन्दा माथि जान सकेको छैन ।

त्यसयता, अधिकांश समय नेप्से २६०० विन्दु वरीपरी नै घुमिरहेको छ भने कारोबार पनि औषत ६/७ अर्ब (दैनिक) मात्रै भइरहेको छ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल विभिन्न अफवाह र राजनीतिक खिचातानीले बजारको बढोत्तरीलाई रोकेको बताउँछन् ।

‘२०७८ भदौमा सेयर धितो कर्जा १०० अर्ब हाराहारी कर्जा गएको थियो भने अहिले करिब १२५ अर्ब गएको छ,’ अध्यक्ष ढकाल भन्छन्, ‘तर, यो तथ्यांक हेर्दै गर्दा चार वर्ष अगाडि हाम्रोमा डिपोजिट कति थियो ? अहिले कति छ ? त्यो बेलाको बजार पुँजीकरण र अहिलेको बजार पुँजीकरण कुन अवस्थामा छ यी विषयलाई हेर्नुपर्ने हुन्छ ।’

यसरी तुलना गरेर कर्जा बढेको वा नबढेको र बजार सो अनुरुप प्रस्तुत भए/नभएको पहिल्याउनुपर्ने उनले बताए ।

यस बीचमा धेरै कम्पनीको आईपीओ आएका छन् भने ठूलो मात्रामा सेयर नेप्सेमा सूचीकृत भएका छन् । यसर्थ पनि नेप्से माथिल्लो विन्दुमा हुनुपर्ने तर्क लगानीकर्ताले गर्दै आएका छन् । बजार लामो समय माथि उक्लिन नसकेकाले पनि माथि जानुपर्ने विषय लगानीकर्ताले गर्दै आएका छन् ।

सेयर धितो कर्जाको १२५ प्रतिशतको जोखिमभार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ भने अन्य वित्तीय सूचक पनि सकारात्मक छन् । हिजो बैंकमा १० देखि १२ प्रतिशतसम्म ब्याज लिएर रमाएका मानिस अहिले ब्याजदर घटेका कारण लगानी क्षेत्रको खोजिमा समेत छन् ।

‘बजेटको मुखमा कर बढ्ने हल्ला चल्यो यसले लगानीकर्तामा एक किसिमको त्रास पैदा भयो । २०७८ मा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुँजी बजारमागरेको प्रहार अझै पूर्णरुपमा सुधार भइसकेको छैन,’ अध्यक्ष ढकाल भन्छन्, ‘यद्यपि, अर्थविज्ञ, अर्थतन्त्र बुझेको र राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको व्यक्ति गभर्नरमा आएकाले अब बजारले लय समाउने अपेक्षा गर्न सकिन्छ।’

ढकालले असार मसान्त नजिकिँदै गर्दा त्यसको प्रभाव पनि बजारमा पर्न थालेको बताए । हाम्रोमा उद्योगधन्दा राम्रोसँग चल्न नसक्दा पुँजी बजारबाट पैसा झिकेर अन्य क्षेत्रको ऋण तथा खर्च तिर्ने काम, लगानी गरेका कम्पनीले प्रोफिट बुक गर्ने गरेका कारण पनि बजार सुस्त भएको उनको भनाइ छ । असारपछि भने बजारले लय समाउने सम्भावना उच्च रहेको उनले बताए ।