पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई रमाना बुझेर तत्काल प्रस्थान गर्न निर्देशन

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिएर पठाउन निर्देशन दिएको छ ।

मंगलबार सम्पन्न सचिवस्तरीय बैठकको निर्णयअनुसार सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई पत्राचार गरी प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव तथा शाखा अधिकृत तहका कर्मचारीलाई ढिलाइ नगरी पठाउन भनिएको छ ।

स्थानीय तहमा खटाइएका कर्मचारी नपुग्दा नियमित काम–कारबाही प्रभावित भएको गुनासो मन्त्रालयसम्म पटक–पटक पुगेको थियो । मन्त्रालयको पत्रमा भनिएको छ, ‘यस मन्त्रालयको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएका कर्मचारीलाई निजामती सेवा ऐन तथा नियमावलीअनुसार यथाशीघ्र रमाना दिई पठाउनुहुन अनुरोध छ।’

स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन र वित्तीय सुशासन सुनिश्चित गर्न मन्त्रालयले ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को दफा ८४ को उपदफा ४ बमोजिम उपसचिव र शाखा अधिकृतलाई विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा निकायबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउँदै आएको छ।