
काठमाडौं । आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा एक अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ९१ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ७६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले क्रान्ति ब्रान्डमा प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ ।
गत आवमा अघिल्लो वर्षको तुलनामा व्यापार १९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । गत आवमा चामलको मूल्य बढ्नुका साथै बढी मात्रामा व्यापार हुँदा कारोबार बढेको उल्लेख गरेको छ ।
कम्पनीले गत आवमा २३ हजार २ सय ७९ मेट्रिक टन चामल बिक्री गरेको छ । सन् २०२४ मा २१ हजार ४ सय ६२ मेट्रिक टन चामल बिक्री गरेको थियो । साथै, प्रतिमेट्रिक टन चामलको मूल्य पनि बढेको पाइएको छ ।
सन् २०२४ मा प्रति मेट्रिक टन ७४ हजार ९ सय ५९ रुपैयाँमा बिक्री गरेको चामल सन् २०२५ मा सोही चामल प्रति मेट्रिक टन ८५ हजार १ सय २७ मेट्रिक टनमा बिक्री गरेको छ ।
त्यसैगरी, कम्पनीले सन् २०२५ मा ६.२१ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १.५८ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीले व्यापार बढेसँगै कुल नगद सञ्जयमा पनि बढेको पाइएको छ । कम्पनीको सन् २०२४ मा २ करोड २० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । सन् २०२५ मा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
सन् १९७० मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । सुनसरीमा रहेको उद्योगले मनसुली चामल, सोना चामल, जीरा चामल बिक्री वितरण गर्दै आएको छ । वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा चार जना सञ्चालक समिति छन् । कम्पनीका निर्देशक मोतिलाल अग्रवाल हुन् । उनीसँग चार दशकदेखिको चामल उद्योगको अनुभव छ । कम्पनीको देशभर चार सयभन्दा बढी ग्राहक छन् ।







प्रतिक्रिया