
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै भुक्तानी सन्तुलन (शोधनान्तर बचत) करिब ९० अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको उल्लेख छ । गत आर्थिक वर्ष २०८१/८२ को साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो ।
अमेरिकी डलरमा गत आर्थिक वर्षको साउनमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको साउनमा ६४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आयात केही बढे पनि निर्यात र रेमिट्यान्समा भएको वृद्धि साथै खुद सेवा आय घाटा पनि घटेको कारण शोधनान्तर बचत मात्रै नभएर साउनमा चालु खाता बचत पनि उल्लेख्य बढेको छ ।
साउनमा चालु खाता पनि ७८ अर्ब १४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा अमेरिकी डलरमा चालु खाता बचत २५ करोडले थियो ।
यस्तै साउनमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको साउनमा खुद पुँजीगत ट्रान्सफर २२ करोड रुपैयाँ थियो । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी भने गत आर्थिक वर्षको तुलनामा घटेको छ ।
साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६९ करोड रुपैयाँ आएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत आर्थिक वर्षको साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रुपैयाँ आएको थियो ।







प्रतिक्रिया