इप्पानले भन्यो: ओली सरकार ज्ञानेन्द्र शाहभन्दा क्रुर देखियो, जेनजी विरूद्ध दमनको घोर भत्सर्ना

266
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भदौ २३ गते देशभर फैलिएको जेन–जी पुस्ताका किशोर किशोरीद्वारा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारद्वारा प्रयोग गरिएको निर्मम र अत्यंत दमनप्रति ‘घोर निन्दा’ र ‘भत्सर्ना’ गरेको छ। १९ जना किशोर–किशोरीहरू मारिएका र सयौं घाइते भएको घटनाप्रति इप्पानले आफ्नो गहिरो दुख व्यक्त गरेको छ।

केपी शर्मा ओलीको सरकार ज्ञानेन्द्र शाहभन्दा क्रुर देखिएको इप्पानको निष्कर्ष छ ।

‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरू विरुद्ध गोली चलाउनु, संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको प्रत्यक्ष उल्लंघन हो। त्यो अवस्था राजा ज्ञानेन्द्रको निरंकुश शासनकाल (२०६२÷६३) २६ जनाको ज्यान गुमाएका जनआन्दोलनको स्मरण गराउँछ, जसरी फेरि १९ जनाको ज्यान गएको उद्दण्ड घटना खेदजनक हो,’ इप्पानले विज्ञप्ती जारी गर्दै भनेको छ ।

देशमा ३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गरी ५ हजार मेगावाट क्षमतासम्मको आयोजना निर्माणमा सक्रिय ऊर्जा उद्यमीहरूले वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित कर तिर्दै आएका छन्। ऊर्जा क्षेत्रले हजारौं रोजगारी सिर्जना गरेको र पूर्वाधार विकासको मुख्य आधार भएकोमा पनि जोड दिएको छ । तथापि, संवैधानिक निकाय तथा राज्यका कर्तृहरू सिमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको इप्पानको ठहर गर्दै घटना सम्बन्धी स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेको छ ।

त्यसैगरी, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेहरूलाई निशुल्क उपचार सुविधा प्रदानको व्यवस्था गर्न इप्पानको माग छ । त्यस्तै, गृहमन्त्रीको नैतिक राजीनामासँगै सरकारको सबै जिम्मेवारहरू जवाफदेही ठहर होउन् भन्दै भ्रष्टाचार, सुशासन, अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी वैध मागहरूको यथोचित सुनुवाइ र ऊर्जा उद्यमीहरूलाई घाइतेहरूको उपचारका लागि आर्थिक र भौतिक सहयोग दिन इप्पानको अपिल छ।

सरकारले जतिसुकै प्रयोजनका लागि गरे पनि सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, आदिलाई रोक्का गर्नु विरोधको सुरुआत बनेको थियो। त्यसपछि युवाहरूले भ्रष्टाचार, रोजगारी अभाव, अवसरमा असमानता, र जनताका आवाज बन्द हुने-जस्ता गहिरा समस्याहरूलाई उठाएर प्रदर्शन चलाएका थिए। त्यसक्रममा सरकारद्वारा बलपूर्वक प्रतिक्रिया, गोली प्रहार, पानी तोड्ने आग्नि, र ग्याँस प्रयोग गरी प्रदर्शनकर्ताहरूलाई खेदजनक रूपमा प्रतिहिंसात्मक रूपमा नियन्त्रण गर्ने प्रयत्न भएको भन्दै इप्पानले दुख व्यक्त गरेको छ ।