
काठमाडौं । विगत केही महिनायता सुनको मूल्यले आकाश छोएको छ । विश्व बजारमा अहिले सुनको मूल्य प्रतिग्राम करिब ११५ डलर (३५ सय ८६ प्रतिऔंस) छ । नेपालमा पनि अहिले सुन प्रतितोला २ लाख १२ हजारमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै कीर्तिमान रकम हो ।
किन यसो भइरहेको हो ? बुझ्ने कोसिस गरौं ।
अमेरिकामा केन्द्रीय बैंक फेडरल रिजर्भले राष्ट्रपति डोनल्ड ट्रम्पको दबाबमा ब्याजदर घटाउन लागेको संकेत दिएपछि अमेरिकी डलर कमजोर हुने आशंका गर्दै लगानीकर्ताहरूले धमाधम सुन किन्न थालेको सञ्चारमाध्यमहरूले लेखेका छन् । डलर कमजोर हुँदै जाँदा सर्वसाधारणका साथै विभिन्न देशका केन्द्रीय बैंकहरू समेतले सुनमा लगानी गर्न थालेका छन् ।
विशेषगरी, सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि अमेरिका नेतृत्वको पश्चिमले विदेशमा रहेको रुसको डलर मौज्दात रोक्का गरिदिएपछि अमेरिकी डलरप्रतिको निर्भरता देशहरूले घटाउन खोजेका छन् र विकल्पमा सुनको सञ्चिति बढाउन थालेका छन् । त्यसअघि कोभिडको समयमा पनि मुलुकहरूले ठूलो संख्यामा सुन खरिद गरेका थिए ।
सबभन्दा बढी चीन र भारतले आफ्नो सञ्चितिमा सुनको मात्रा बढाउन थालेका छन् । डलर जस्तो गरी सुनलाई सजिलै रोक्का गर्न वा प्रतिबन्ध लगाउन मिल्दैन ।
विश्वव्यापी तनाव र जोखिमले पनि सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेर्न लगानीकर्ताहरूलाई प्रेरित गरेको हो । विभिन्न युद्ध, व्यापार तनाव र सरकारी ऋणले जन्माएको चिन्ताका कारण धेरै लगानीकर्ताहरूले सुन जस्तो ठोस कुरामा लगानी गर्नु सुरक्षित हुने सोच बनाएका हुन्
बुलियन भल्ट डट्कम नामक वेबसाइटमा प्रकाशित तथ्यांकअनुसार, विगत पाँच वर्षमा सबभन्दा धेरै सुन किन्ने मुलुकमा चीन, भारत, पोल्यान्ड र टर्की रहेका छन् । चीनको केन्द्रीय बैंकले यस अवधिमा ३३१.३ टन सुन थपेर २२ सय ७९ टनभन्दा बढीको सञ्चिति राखेको छ । त्यस्तै भारतले यस अवधिमा २४१.२ टन सुन थपेर ८७६.२ टन सुन सञ्चित गरेको छ । त्यस्तै पोल्यान्डले २१९.६ टन र टर्कीले २१६.४ टन यस अवधिमा थपेका छन् ।
सुनको सञ्चितिको हिसाब गर्दा अमेरिकासँग सबभन्दा धेरै सुन रहेको छ । उससँग ८ हजार १३३ टनभन्दा बढी सुन हुँदा जर्मनीसँग ३३ सय ५१ टनभन्दा बढी सुन छ । त्यसपछि इटलीसँग २४ सय ५२ टन, फ्रान्ससँग २४ सय ३७ टन, रुससँग २३ सय ३३ टन रहेको छ ।
नेपाल राष्ट्र बैंकको २०८१ असार ३१ सम्मको तथ्यांक हेर्दा, पेपर गोल्ड ७२ सय ८० दशमलब ५३ किलो र सञ्चितिमा रहेको सुन १९ सय ५३ दशमलब ६६ किलो (२.६ टन) रहेको छ ।
डलरप्रतिको अविश्वासका साथै गोल्ड एक्सचेन्ज ट्रेडेड फन्डको पुनरागमनले पनि सुनप्रतिको आकर्षण बढाएको हो । यसमार्फत मानिसहरूले सुन खरिद नगरिकनै सुनसँग जोडिएको सेयर खरिद गर्न मिल्छ । वर्षौंसम्म यसको माग घटेको भए पनि अहिले यसमा व्यापक लगानी हुन थालेको छ । यसले गर्दा सुनको माग बढेको छ किनकि सेयरलाई सुनले नै ब्याकअप गर्नुपर्ने हुन्छ ।
अमेरिकी ब्याजदरको उतारचढावले पनि सुनको मूल्यलाई निर्धारण गर्ने गरेको छ । सामान्यतया ब्याजदर बढ्दा सुनको मूल्य घट्ने गर्छ किनकि सुनले ब्याज नदिने भएकाले मानिसहरू त्यसभन्दा सुरक्षित मानिने बोन्ड वा बचत खातालाई प्राथमिकता दिन्छन् । तर, यसपालि फरक परिदृश्य छ ।
अमेरिकामा सन् २०२३ र २०२४ मा ब्याजदर उच्च भए पनि सुनको मूल्य बढिरह्यो । यसको अर्थ हुन्छ, लगानीकर्ताहरूले ब्याजदरलाई मात्र हेरिरहेका छैनन् । उनीहरू सुरक्षा, मुद्रासम्बन्धी जोखिम र दीर्घकालीन स्थिरतालाई पनि विचार गरिरहेका हुन्छन् ।
विश्वव्यापी तनाव र जोखिमले पनि सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेर्न लगानीकर्ताहरूलाई प्रेरित गरेको हो । विभिन्न युद्ध, व्यापार तनाव र सरकारी ऋणले जन्माएको चिन्ताका कारण धेरै लगानीकर्ताहरूले सुन जस्तो ठोस कुरामा लगानी गर्नु सुरक्षित हुने सोच बनाएका हुन् ।
हालका महिनामा अमेरिकी डलरको भाउ घटेको छ किनकि डोनल्ड ट्रम्पको स्वेच्छाचारी व्यापार नीतिले उथलपुथल ल्याउनुका साथै फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षा बजारहरूले गरिरहेका छन् ।
सन् १९७३ यता पहिलोपटक अमेरिकी डलरले सन् २०२५ को पहिलो ६ महिनामा सबभन्दा खराब प्रदर्शन गरेको थियो । पाउन्ड, युरो र येन जस्ता ६ वटा मुद्रासँग तुलना गरी अमेरिकी डलरको शक्तिको मापन गर्ने डलर इन्डेक्सका अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा डलर १०.८ प्रतिशतले घटेको छ । यस्तो अवस्थामा अमेरिका बाहिरका मानिसलाई सुन किन्न सस्तो पर्छ । त्यसले पनि सुनको माग बढाइदिन्छ ।
अधिकांश देशको केन्द्रीय बैंकमा डलर सञ्चिति नै सबभन्दा बढी छ । तर, डलरको यही प्रभुत्वको आडमा अमेरिकाले अनावश्यक युद्ध र व्यापार तनाव चर्काउने गरेपछि अन्य देशका केन्द्रीय बैंकहरूले डलर सञ्चिति घटाउन थालेका छन्
हुन त दशकौंदेखि अमेरिकी डलर संसारको सबभन्दा महत्त्वपूर्ण मुद्रा रहिआएको छ । सन् २००० को दशकको आरम्भमा विश्वव्यापी विदेशी मुद्रा सञ्चितिको करिब ७० प्रतिशत हिस्सा डलरले ओगटेको थियो । तर, अहिले त्यो घटेर करिब ४८ प्रतिशत भएको छ ।
डलर घटिरहँदा अन्य मुद्राहरू क्रमशः लोकप्रिय भइरहेका छन् । व्यापार र सञ्चितिमा युरोको मात्रा बढिरहेको छ । विश्व व्यापारमा युरोको हिस्सा करिब १९ प्रतिशत रहेको छ । ट्रेडट्रेजरीपेमेन्ट्स डट्कमको तथ्यांकअनुसार, सन् २०२५ को जुन महिनामा विश्वव्यापी व्यापार भुक्तानीमा अमेरिकाको हिस्सा ४७.१९ प्रतिशत छ भने युरोको २३.८७ प्रतिशत छ । त्यस्तै बेलायती पाउन्डको ७.५९, जापानी येनको ३.८४, क्यानडेली डलरको ३.४३ र चिनियाँ युआनको २.८८ प्रतिशत हिस्सा छ । यसरी अन्य मुद्राहरूले क्रमशः आफ्नो स्वीकार्यता बढाउँदै लगेका छन् ।
यस्तो तथ्यांक हुँदैमा डलरको प्रभुत्व सकिन थालेको भनिहाल्न मिल्दैन । यो अहिले पनि विश्वको सबभन्दा महत्त्वपूर्ण मुद्रा हो । अधिकांश देशको केन्द्रीय बैंकमा डलर सञ्चिति नै सबभन्दा बढी छ । तर, डलरको यही प्रभुत्वको आडमा अमेरिकाले अनावश्यक युद्ध र व्यापार तनाव चर्काउने गरेपछि अन्य देशका केन्द्रीय बैंकहरूले डलर सञ्चिति घटाउन थालेका छन् । यस सन्तुलनमा आएका ससाना परिवर्तनले पनि सुनलाई भरपर्दो तटस्थ सम्पत्तिका रूपमा लिन सघाएको छ । कुनै पनि देशको प्रभुत्व नरहने भएकाले सुनलाई कसैले हतियार बनाउन सक्दैन ।
विदेशी बैंकमा डलर रोक्का गरिएझैं सुनलाई रोक्का गर्न गाह्रो हुन्छ किनकि यो सरकारको दायित्व (लायबिलिटी) नभई डिजिटल वित्तीय प्रणाली बाहिर राख्न सकिने भौतिक सम्पत्ति हो । त्यसो त विभिन्न देशले आफूसँग रहेको अन्य देशको सुन सञ्चितिलाई रोक्का गरेका उदाहरणहरू पाइन्छन् । बैंक अफ इंग्ल्यान्डले आफूसँग रहेको भेनेजुएलाको करिब ३.२ अर्ब डलर बराबरको सुन सञ्चिति रोक्का गरिदिएको थियो । राष्ट्रपति निकोलस मदुरोको सरकारलाई दण्डित गर्नका लागि त्यो निर्णय लिइएको थियो ।
भेनेजुएलाको केन्द्रीय बैंकले त्यसका विरुद्ध बेलायती अदालतमा दायर गरेको मुद्दा र त्यसको पुनरावेदन पनि हारेको थियो । तैपनि, अमेरिकासँग भूराजनीतिक तनाव बेहोर्ने मुलुकले डलर भन्दा बढी सुनलाई पत्याउने गरेका छन् ।
त्यस्तै आफ्नो सञ्चितिमा डलर मात्र राख्दा जोखिमपूर्ण हुन्छ किनकि अमेरिकामा आर्थिक संकट आउँदा त्यसको असर अन्य मुलुकलाई पनि पर्छ । सन् २००८ को आर्थिक मन्दी त्यसको राम्रो उदाहरण हो । त्यस स्थितिमा सुनले सञ्चितिलाई सन्तुलनमा राख्न योगदान गर्छ ।
बढ्दो मूल्यका कारण मध्यम वर्गका मानिसलाई सुन किन्न कठिनाइ भइरहेको छ । सुनको मूल्यमा हाल देखिएको वृद्धि सर्वसाधारणका कारण भन्दा पनि विभिन्न देशको केन्द्रीय बैंकले किनेकाले गर्दा सम्भव भएको भन्न सकिन्छ
अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाएछ वा डलर थप कमजोर बन्दै गएछ वा अन्य मुलुकका केन्द्रीय बैंकहरूले सुन किन्ने मात्रालाई बढाएछन् भने सुनको मूल्य झनै बढ्नेछ । कतिपय विश्लेषकहरूले सन् २०२६ सम्ममा सुनको मूल्य प्रतिऔंस ४ हजार डलर पुग्न सक्ने अनुमान गरेका छन् ।
सुनमाथिको लगानी सुरक्षित हुने भएकाले सर्वसाधारणले पनि ल्याकतले भ्याएजति सुन किनेर राख्ने गरेका छन् । अहिल्यै सुन किनेर राख्दा विगतमा मूल्य झनै बढ्दै गएछ भने बेचेर नाफा कमाउन सकिने सोचका साथ पनि धनाढ्यहरूले सुनमा लगानी गर्न थालेका छन् । तर, बढ्दो मूल्यका कारण मध्यम वर्गका मानिसलाई सुन किन्न कठिनाइ भइरहेको छ । सुनको मूल्यमा हाल देखिएको वृद्धि सर्वसाधारणका कारण भन्दा पनि विभिन्न देशको केन्द्रीय बैंकले किनेकाले गर्दा सम्भव भएको भन्न सकिन्छ ।
निकट भविष्यमा विश्वभरिका पुँजी बजारमा सुनको महत्त्व कायम रहने अपेक्षा गर्न सकिन्छ । यसको मूल्य घटेछ भने पनि केन्द्रीय बैंक र लगानीकर्ताहरूले गरेको विश्वासका कारण सुन मूल्यवान र सान्दर्भिक रहिरहनेछ । यसको चमक घट्ने तत्काल सम्भावना देखिँदैन ।







प्रतिक्रिया