
काठमाडौं । समृद्धि ब्रान्डको विभिन्न प्रकारका तेल बेच्ने सिद्धिविनायक आयल प्रालिले एकै वर्ष ५ अर्ब ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ८८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट कच्चा आयल आयात गरी प्रशोधन गर्दै आएको छ । कम्पनीले विगत दुई वर्षदेखि उच्च व्यापार गर्दै आएको छ ।
कम्पनीको व्यापार बढ्नुको मुख्य भूमिका भारत सरकारले तेलमा लिएको भन्सार नीति रहेको छ । भारत सरकारले सन् २०२४ मा कच्चा खानेतेल र प्रशोधति तेलमा भन्सार दर बढाएसँगै नेपालबाट उच्च रुपमा तेल निर्यात भएको कम्पनीले जनाएको छ । जसले गर्दा कम्पनीको व्यापार गत आवमा रिबाउन्ड भएको हो ।
कम्पनीकाअनुसार गत आवमा व्यापार तेब्बरले बढेको छ ।
सन् २०२४ मा कम्पनीले प्रति मेट्रिक टन १ लाख ५७ हजार २ सय ८८ रुपैयाँमा बिक्री गरेको थियो । सन् २०२५ मा बढेर प्रतिमेट्रिक टन २ लाख ७ हजार ४ सय २३ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सन् २०२४ मा घाटा व्यहोरेको कम्पनीले गत आवमा ५ प्रतिशत नाफा कमाएको छ ।
कम्पनीले भटमास, पाम आयल र सनफ्लावर गरी वार्षिक ३६ हजार ६४ मेट्रिक टन तेल प्रशोधन गर्दै आएको छ ।
कम्पनीले प्रशोधन गरेको तेल समृद्धि ब्रान्डमा देशभर बिक्री गर्दै आएको छ ।
करिब तीन वर्षदेखि लगातार व्यापार गर्दै आएको कम्पनीले गत आवमा मात्रै नाफा कमाएको हो ।
विगतका वर्षहरुमा कम्पनीले घाटा व्यहोरेको थियो । कम्पनीले गत आवमा गरेको कारोबारमध्ये ९४ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख गरेको छ ।
गोयन्का ग्रुपद्वारा सञ्चालित कम्पनीका अध्यक्ष गोपाल गोयन्का हुन् ।
उनीसँग ३५ वर्षदेखि विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभव छ । उनीसँग निर्माण क्षेत्र, आर्थिक क्षेत्र र ट्रेडिङ क्षेत्रमा अनुभव छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ करोड ६३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७२ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया