
काठमाडौं । सरकारले भदौ ३० गतेदेखि देशैभर चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकाको तीन जिल्लासहित २६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । भदौ ८ गते बसेको विभागीय मन्त्रीस्तरीय बैठकले भदौ ३० गतेदेखि आगामी छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले यस्तो पसल सञ्चालनमा ल्याउन लागेका हुन् ।
सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहुँ दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो ७ रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ ।
यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो २, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।
कहाँ कहाँ सञ्चालन हुँदैछ सुपथ मूल्य पसल ?
साल्ट ट्रेडिङ कर्पोरेशनल काठमाडौं उपत्यकाको कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै ३ वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।
यस्तै उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यसैगरी कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा यस्तो पसल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
उता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । जसअनुसार झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङगा, ललिलपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा,पर्सा, काठमाडौं, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरामा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया