नागढुंगा सुरुङमार्ग: निर्माण अन्तिम चरणमा, शीघ्र सञ्चालनमा ल्याउने तयारी

119
Shares

काठमाडौं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो अत्याधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।

विभागले निकट भविष्यमा उक्त सुरुङमार्ग सञ्चालनमा आउने पनि जानकारी दिएको छ । सुरुङमार्गमा हालसम्म ९४.५ प्रतिशत भएको विभागले जनाएको छ । बाँकी रहेको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्न लागिएको छ ।

सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर स‌ङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा सञ्चालनको लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्न लागिएको छ ।

जसअनुसार साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत गरिसकेको छ । सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत इलेक्ट्रोनिक्स माध्यमबाट दस्तुर संकलन गर्नका लागि आरएफआईडी प्रविधिमा आधारित टोल कलेक्सन सेन्टर कार्यान्वयनमा ल्याउने तयारी भएको छ । अहिले यो प्रणालीको जडान कार्य भइरहेको विभागको भनाई छ ।

यो प्रणालीमार्फत सवारी साधनको वीण्डसिल्डमा टाँसिने बैंक खाता आवद्ध भएको आरएफआईडी ट्यागमार्फत सोझै टोल शुल्क(सुरुङमार्ग प्रयोग गरेवापतको शुल्क) भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि सातै दिन २४ घण्टा सेवा प्रदान, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाई, लाइटिंग, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मोनिटरिंग, इमरजेन्सी सेवा सुविधा, फायर फाइटिंगलगायतको उच्च प्रविधियुक्त प्रणालीहरुको नियमित सञ्चालन, अनुगमन तथा मर्मत सम्भारको लागि आवश्यक पर्ने दक्ष जनशक्ति स्पेशिफिकेसनसहितको सञ्चालन कार्यविधीसमेत जापानीज परामर्शदाताबाट तयार भएर स्वीकृत भइसकेको विभागले जनाएको छ ।

हाल सडक विभागले नागढुंगा सुरुङमार्ग संचालन, ब्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ ।

टनेल अपरेशन एण्ड म्यानेजमेन्टको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोतसम्बन्धि सहमति प्राप्त भइसकेको छ । यस्तै सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ । उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा छ ।

साथै लागत अनुमान तयार गर्न आवश्यक नर्म्स स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ ।

सम्पूर्ण कार्य समयमा नै सम्पन्न गरी निकट भविष्यमै सर्वसाधारणको प्रयोगको लागि खुला गर्ने गरी तयारी भइरहेको विभागले जनाएको छ ।