
काठमाडौं । आसन्न चाडपर्वमा सर्वसाधारणलाई सुरक्षितरुपमा घर जानका लागि सरकारले देशभरका जोखिमयुक्त राजमार्गलाई व्यवस्थापन गर्न कार्ययोजना तयार पारेको छ ।
सडक विभागले देशभरका राजमार्गमध्ये जोखिमयुक्त सडक खण्डको पहिचान गरी व्यवस्थापन गर्न ‘मनसुन पूर्वतयारी तथा चाडपर्व लक्षित कार्ययोजना’ तयार पारेको छ ।
विभागका उपमहानिर्देशक प्रभात झाकाअनुसार चाडपर्वमा सार्वजनिक सवारी साधनको अत्यधिक चाप रहने नागढुङगा–मलेखु-मुग्लिङ सडकसहित अन्य जोखिमयुक्त सडक खण्डमा २४ सै घण्टा हेभी इक्वीपमेन्ट तैनाथ गर्ने व्यवस्था गरेको छ ।
यस्तै विभिन्न स्थानमा यस्ता उपकरणसहित आवश्यक जनशक्तिसमेत तयारी अवस्थामा राखिएको उपनिर्देशक झाले जानकारी दिए ।
‘हामीले पहिरोग्रस्त क्षेत्रमा यान्त्रिक उपकरण तयारी अवस्थामा तैनाथ गरेका छौं भने पहिरो गएमा तत्काल यातायात सुचारु गराउने व्यवस्था गरेका छौं,’ झाले क्लिकमान्डुसँग भने,‘यस्तै चाडपर्वलाई लक्षित गरेर भत्केका सडकहरु दैनिकरुपमा मर्मत भइरहेका छन भने चालु रहेका ठेक्का अन्तर्गत सम्बन्धित निर्माण व्यवसायीबाट मर्मत सम्भार भइरहेका छन् ।’
उनकाअनुसार भदौ अन्तिम सातादेखि मसान्तसम्ममा चाडपर्वमा अत्यधिक चाप हुने सडकखण्डको खाल्डा खुल्डी पुर्ने र भत्किएका ठूला सडक खण्डहरुमा ग्राभेल मर्मत गरी सवारी साधन सञ्चालन हुने योग्य बनाइँदैछ ।
विभागका अनुसार काठमाडौंबाट बाहिरिने प्रमुख सडक खण्ड नागढुङगा-मलेखु-मुग्लिङ सडक अन्तर्गतको झ्याप्लेखोला र कृष्णभिर नजिकै पहिरो नियन्त्रण तथा स्लोप स्टेब्लाइजेसनको काम भइरहेको छ ।
यसैगरी खोला कटान नियन्त्रण कार्य सम्पन्न गरी महेश खोला नजिकै टेवा पर्खाल लगाउने काम भइरहेको छ । यसका साथै पुल तथा कल्भर्ट निर्माण र नाली निर्माण तथा सफा गर्ने कामलाई पनि तीव्रता दिइएको विभागले जनाएको छ ।
विभागकाअनुसार अति जोखिमयुक्त स्थान पहिचान गरी ती स्थानमा हेभी उपकरण र आवश्यक जनशक्ति २४ सै घण्टा तयारी अवस्थामा तैनाथ गरिएको छ । जसअनुसार नागढुङगा-मलेखु खण्ड अन्तर्गत नागढुङगा पातलेबन, झयाप्ले खोला, सिस्नेखोला(सुरुङमार्ग अन्तर्गत रहेको) र खत्रीपौवा, नौबिसे-मलेखु खण्ड अन्तर्गत चारकिला, सातकिला, कमेरे, चिरौंदी पुल, जरेखेत, चालिसे र परेवाभिर तथा मलेखु-मुग्लिङ खण्ड अन्तर्गत मलेखु, रातमाटे, बाँदरे, कृष्णभिर, जवाङ भिर, मौवा खोला, फिस्लिङ र घोप्टे भिरलाई अति जोखिमयुक्त स्थान पहिचान गरिएको छ ।
विभागका अनुसार यस्ता जोखिमयुक्त स्थानमा बाढी र पहिरोका कारण हुन सक्ने सडक अवरुद्धलाई मध्यनजर गरी मलेखु स्टेशनमा लोडर, ब्याक हो लोडर र एक्साभेटर, हुग्दीमा एक्साभेटर, कुरिनटारमा एक्साभेटर, ब्याक हो लोडर, लोडरसहित चालकसहित ठेक्केदार कम्पनीको तर्फबाट इन्जिनियर र विभागका तर्फबाट इन्जिनियर २४ सै घण्टा तयारी अवस्थामा तैनाथ गरिएको छ ।







प्रतिक्रिया