
काठमाडौं । लगातार तेस्रो वर्ष पनि शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) उच्च बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा विदेशी मुद्रा आर्जन र खर्चबीचको अन्तर भुक्तानी सन्तुलन ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा यस्तो बचत २ खर्ब ८५ अर्ब ८२ करोड थियो । आर्थिक वर्ष २०७८/७९ मा उच्च आयातसँगै बढेको शोधनान्तर घाटाले विदेशी विनियम सञ्चितमा दबाब पर्दै गएपछि आयात नियन्त्रण गर्न राष्ट्र बैंक र नेपाल सरकारले विभिन्न उपायहरु नै चाल्नु परेको थियो ।
तर, पछिल्लो ३ वर्षयता शोधनान्तर बचत उल्लेख्य देखिएको छ भने चालु खाता पनि लगातार दोस्रो वर्ष पनि बचतमा देखिएको छ ।
गत आर्थिक वर्षमा चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २२१ अर्ब ७१ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता गत आर्थिक वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।
गत आर्थिक वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रहेको थियो । यस्तै गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रहेको थियो ।








प्रतिक्रिया