१७ पूर्वाधारका आयोजनामा रकमान्तर गरियो न्यूनतम २५ करोड बजेट

५ आयोजनाको बजेट घटाइयो


काठमाडौं । बजेट अभाव भएका देशभरका महत्वपूर्ण आयोजनामध्ये २५ महत्वपूर्ण सडक आयोजनालाई रकमान्तर गरी बजेट उपलब्ध गराइएको छ ।

चाहिएको परिमाणमा बजेट उपलब्ध नहुँदा आयोजना नै प्रभावित हुने अवस्थामा पुगेपछि सडक विभागले १७ आयोजनालाई २५ करोडभन्दा बढीको रकम रकमान्तर गरी उपलब्ध गराएको छ । बाँकी ५ आयोजनाको केही बजेट घटाइएको छ ।

अधिकांश रकमान्तर भएका कार्यक्रमहरु स्थानीय जनप्रतिनिधि, साँसद, मन्त्रीलगायतकाले माग गरेको कार्यक्रमहरु हुन् । स्थानीय जनप्रतिनिधी, साँसद, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र मन्त्रीहरुले माग गरेको आधारमा समावेश भएका स्थानीय सडक पुल निर्माण, निर्वाचन क्षेत्र रणनैतिक सडक, स्थानीय सडक पुल निर्माणलगायतका आयोजनालाई रकमान्तर गरी बढी रकम उपलब्ध गराइएको हो ।

ठेक्का नलागेर काम सुरु हुन नसकेको, लागत अनुमान घटेर कम रकममा ठेक्का लागेको र ठेक्का लागेर पनि ठेक्केदारले काम सुरु हुन नसकेको न्युन प्रगति भएका आयोजनाको बजेट काटेर बढी प्रगति गरेको तर बजेट अभाव भएको आयोजनालाई रकमान्तर गरी निर्धारित बजेटभन्दा बढी रकम उपलब्ध गराइएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।

विभागका अनुसार रकमान्तरसहित सहित बढी बजेट पाएका आयोजनाहरुमा स्थानीय सडक पुल निर्माण कार्यक्रम छन् । सुरुआति बजेट ३ अर्ब ५५ करोड ९१ लाख रहेको स्थानीय सडक पुल निर्माणलाई ४ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको थियो ।

रकमान्तर रकमसहित खुद बजेट ८ अर्ब १९ करोड ३५ लाख बजेट भएको स्थानीय सडक पुल निर्माण कार्यक्रमतर्फ गत आर्थिक वर्षमा ८९.७९ प्रतिशतका दरले ७ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै सुरुआति समयमा ३ अर्ब २१ करोड २७ लाख बजेट पाएको हुलाकी राजमार्ग (पुलसहित) आयोजनालाई पनि रकमान्तर गरी ७ अर्ब १६ करोड ८७ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यो आयोजनालाई ३ अर्ब ९५ करोड ५९ लाख रुपैयाँ रकमान्तर गरि उपलब्ध गराइएको हो । गत् आर्थिक वर्षसम्म यो आयोजनाले ९७.३२ प्रतिशतका दरले ६ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई रकमान्तर गरी ७ अर्ब ९५ करोड २४ लाख रुपैयाँ उपलब्ध गराइएको छ । उपलब्ध बजेटमध्ये यो आयोजनाले ९२.४६ प्रतिशतका दरले ७ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ ।

यसैगरी सुरुआति बजेट १० अर्ब ६५ करोड ६२ लाख रुपैयाँ रहेको बैकल्पिक सहायक राजमार्र्ग विकास कार्यक्रमलाई थप १ अर्ब १८ करोड ३६ लाख ६४ हजार रुपैयाँँ रकमान्तर गरी ११ अर्ब ८३ करोड ९८ लाख ८२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यो रकममध्ये यो आयोजनाले गत् आर्थिक वर्षमा ८१.६३ प्रतिशतका दरले ९ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

रकमान्तरसहित थप रकम पाउनेमा उत्तर-दक्षिण राजमार्ग(कर्णाली, कालीगण्डकी र कोशी) आयोजना पनि परेको छ । यो आयोजनाको लागि गत् आर्थिक वर्षमा ४ अर्ब ३४ करोड १६ लाख रुपैयाँ बिनियोजन भएको थियो ।

पर्याप्त परिमाणमा बजेट उपलब्ध नहुँदा निर्माण कार्य प्रभावित भएपछि यो आयोजनालाई ९७ करोड २२ लाख रुपैयाँ थप रकमान्तर गरी कूल ५ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । यसमध्ये यो आयोजनाले उक्त आर्थिक वर्षमा ९६.७२ प्रतिशतका दरले ५ अर्ब १३ करोड ९६ लाख रुपैयाँ खर्च गरेको विभागले जनाएको छ ।

विभागका अनुसार कम बजेट भएको सुरुङ मार्ग विकास कार्यक्रमलाई पनि रकमान्तर गरी कूल २ अर्ब ५२ करोड ५९ लाख बजेट उपलब्ध गराइएको थियो । यो कार्यक्रमको लागि सुरुआति समयमा ८१ करोड १४ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

यो कार्यक्रमलाई १ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको थियो । यसमध्ये यो कार्यक्रमले गत् आर्थिक वर्षमा ९६.५१ प्रतिशतका दरले २ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

विभागले चतरा मुलघाट माझीटार दोभान ओलांगचुङगोला(तमोर कोरिडर) लाई पनि बिनियोजित बजेट बाहेक रकमान्तर गरी २७ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । सुरुआति समयमा १ अर्ब ८ करोड ६० लाख बजेट पाएको यो आयोजनालाई रकमान्तर रकमसहित कूल १ अर्ब ३५ करोड ९० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । यो आयोजनाले ९७.७७ प्रतिशतका दरले १ अर्ब ३२ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ ।

सुरुआति समयमा ४५ करोड बजेट प्राप्त गरेको कक्रहवा–रुद्रपुर–सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक आयोजनालाई पनि विभागले रकमान्तर गरी थप ५१ करोड ४४ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको छ । यसरी रकमान्तर रकमसहित यो आयोजनाले कूल ९६ करोड ४४ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो । यसमध्ये यो आयोजनाले गत आर्थिक वर्षमा ९५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ ।

विभागकाअनुसार ४ अर्ब ३७ करोड ३४ लाख बजेट प्राप्त गरेको सडक सुधार आयोजनालाई पनि रकमान्तर गरी थप ४४ करोड ७४ लाख रुपैयाँ गरी कूल ४ अर्ब ८२ करोड ८ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । यसमध्ये यो आयोजनाले ३५.६२ प्रतिशतका दरले १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ ।

यस्तै औद्योगिक कोरिडर(व्यापारिक मार्ग) विस्तार आयोजनालाई १ करोड ५८ लाख रुपैयाँ रकमान्तर गरिएको छ । रकमान्तरसहित यो आयोजनाले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ प्राप्त गरेको थियो । सुरुआति समयमा १ अर्ब ९ करोड १६ लाख प्राप्त गरेको यो आयोजनाले गत आर्थिक वर्षमा ८९.६२ प्रतिशतका दरले ९९ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो ।

यसैगरी १४ करोड ४० लाख बजेट प्राप्त गरेको महाकाली पुल निर्माण आयोजनालाई ७ करोड ७७ लाख रुपैयाँ रकमान्तरसहित कूल २२ करोड १७ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । यसमध्ये ९९.८५ प्रतिशतका दरले २२ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ ।

वार्षिक बजेटको २० प्रतिशतभन्दा बढी रकम प्राप्त गर्ने नौ आयोजना

यस्तै विभागले नौ आयोजनालाई उनीहरुको वार्षिक बजेटभन्दा २० प्रतिशत बढी रकम रकमान्तर गरी उपलब्ध गराएको छ ।
यस्ता आयोजनामा सुरुङमार्ग विकास कार्यक्रम, स्थानीय पुल निर्माण, हुलाकी राजमार्ग(पुलहरु समेत), कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धीखर्क-ढोरपाटन सडक, कान्ति राजपथ, निर्बाचन क्षेत्र रणनैतिक सडक, महाकाली पुल निर्माण आयोजना, चतरा मूलघाट माझीटार दोभान ओलांगचुङगोला(तमोर कोरिडर) र उत्तर दक्षिण राजमार्ग(कर्णाली, कालीगण्डकी र कोशी) आयोजना पर्छन ।

सुरुङमार्ग विकास कार्यक्रमलाई २११ प्रतिशतका दरले रकमान्तर गरी २ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ उपलब्ध गराइएको हो। यस्तै स्थानीय सडक पुल निर्माणलाई १३० प्रतिशत रकम रकमान्तर गरी ८ अर्ब १९ करोड ३५ लाख, हुलाकी राजमार्ग(पुलसहित) लाई १२३ प्रतिशतको दरले ७ अर्ब १६ करोड ८७ लाख, कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धिखर्क-ढोरपाट सडकलाई ११४ प्रतिशतका दरले ९६ करोड ४४ लाख, कान्ति राजपथलाई १०१ प्रतिशतका दरले ४० करोड २४ लाख, निर्वाचन क्षेत्र रणनैतिक सडकलाई ६२ प्रतिशतका दरले ७ अर्ब ९५ करोड २४ लाख रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको छ ।

यसैगरी महाकाली पुल निर्माण आयोजनालाई ५४ प्रतिशतका दरले २२ करोड १७ लाख, चतरा-मूलघाट-माझीटार-दोभान-ओलांगचुङगोला(तमोर कोरिडर) लाई २५ प्रतिशतका दरले १ अर्ब ३५ करोड ९० लाख र उत्तर दक्षिण राजमार्ग(कर्णाली, कालीगण्डकी र कोशी) लाई २२ प्रतिशतका दरले ५ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको छ ।

बजेट कटौती भएको ५ आयोजना

विभागले काम नै गर्न नसकेको भन्दै पाँच आयोजनाको बजेट कटौंती गरेको छ ।

यसमा राजमार्ग स्तरोन्नती तथा पुनस्थापना कार्यक्रम, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण, पुष्पलाल राजमार्ग(मध्य पहाडी राजमार्ग), क्षेत्रीय ब्यापारिक मार्ग विस्तार आयोजना र सूर्यबिनायक-धुलिखेल र कोटेश्वर-बानेश्वर-त्रिपुरेश्वर सडक आयोजना पर्छन् ।

६ अर्ब ५३ करोड १८ लाख बजेट पाएको राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रमबाट १ अर्ब ५८ लाख रुपैयाँ कटौती गरी ५ अर्ब ५२ करोड ६० लाख रुपैयाँ कायम गरिएको छ । यस्तै रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण कार्यक्रमको २ अर्ब ३८ करोड ९ लाख रुपैयाँबाट २३ करोड ११ लाख कटौंती गरी २ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम गरिएको छ ।