
काठमाडौं । सरकारले असोज १ गतेदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । अन्यथा कारबाही हुने भएकाले सवारीधनीहरु यतिबेला इम्बोस्ड नम्बर प्लेट लिनका लागि दौडधुपमा छन् । तर यहाँ धेरै सवारीधनीहरु छन् जसलाई इम्बोस्ड नम्बर प्लेट कसरी लिने ? यसका प्रक्रिया केके हुन् ? कहाँ गएर लिने भन्ने थाहा नहुन सक्छ ।
आज हामी इम्बोस्ड नम्बर लिनका लागि केके गर्नुपर्छ ? भन्ने बारेमा जानकारी दिदैछौं ।
इम्बस्ड नम्बर प्लेट लिन सबैभन्दा पहिला hsenp.dotm.gov.np मा गएर अनलाइन फर्म भर्नुपर्छ । त्यसपछि आवश्यक कागजातहरुसहित जस्तैः सवारी धनी व्यक्त्ति भएमा फोटो सहितको अनलाईन फर्म, सवारीसाधन निजी कम्पनी वा सरकारी कार्यालयको भएमा छाप सहितको अनलाइन फर्म भरेर सम्बन्धित कार्यालयको छाप सहितको पत्र र तोकिएको यातायात कार्यालयमा गएर बुझाउनु पर्छ ।
साथमा दस्तुर बुझाएको रसिद दुईपांग्रे सवारीको हकमा २ हजार ५ सय रुपैयाँ ३ पांग्रे सवारीको हकमा २ हजार ९००, साना तथा मझौला चारपांग्रे सवारीको हकमा ३ हजार २०० र ठूला सवारीको हकमा ३ हजार ६०० रुपैयाँ दस्तुर लाग्दछ । सोही अनुसार तोकिएको बैंकमा दस्तुर बुझाएको रसिद लिएर जानु पर्छ ।
त्यस्तै सवारीधनी व्यक्ति भएमा नागरिकताको प्रतिलिपि र सवारीसाधन कम्पनीको नाममा भएमा कम्पनी दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, प्यान तथा भ्याटको प्रमाणपत्र अनिवार्य चाहिन्छ ।
बैंकिङ प्रक्रियाबाट खरिद भएको सवारीको हकमा सम्बन्धित बैंकको सहमति-पत्र आवश्यक पर्छ ।
सवारी धनी र सवारीदर्ता सम्बन्धि विवरण भएको ब्लु बुकको प्रतिलिपि, चालु आर्थिक वर्षको सवारी कर चुक्ता भएको प्रमाणित गर्ने कागजात, सवारी साधनको दर्ता प्रमाणपत्रको ब्लुबुक कपि लगायतका सबै कागज पत्र तयार गरी यातायात कार्यालयमा गएर रुजु गराउनु पर्छ । त्यसपश्चात बायोमेट्रिकका लागि एसएमएसमार्फत जानकारी प्राप्त हुनेछ ।
बायोमेट्रिक र सवारी नम्बर प्लेटको लागि तोकिएको समय र तोकिएको यातायात कार्यालयमा जानुपर्छ । सबै प्रक्रिया पुरा भएपछि अन्त्यमा गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान हुनेछ ।
सरकारले असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नु पर्ने निर्देशन दिइसकेको छ । अन्यथा कारबाही गरिने चेतावनी समेत दिएको छ । तर सवारीधनी भने इम्बोस्ड नम्बर प्लेटको दस्तुर भने महँगो भएको, इम्बोस्ड नम्बर प्लेट कमसल भएको भन्दै चर्को विरोध गरिरहेका छन् ।
यसअघि पनि यसरी नै इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गर्नु पर्ने योजना सरकारले अघि सारेको थियो । तत्कालीन समयमा विभिन्न प्राविधिक समस्याका कारण यसलाई द्रुतगतिमा योजनाअनुसार अघि बढाउन सकिएको थिएन । तर, अहिले भने ती सबै प्राविधिक समस्या समाधान गरेर युद्धस्तरमा जडान गर्न विभाग तयारी अवस्थामा रहेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार अब सवारी अनुमति पत्रजस्तो इम्बोस्ड नम्बर प्लेट वितरणमा ढिलाइ हुँदैन । बाहिर हल्ला भएजस्तो इम्बोस्ड नम्बर प्लेटको लागि सेवाग्राहीले कुर्नु पर्दैन, आवेदन भरेपछि भेरिफिकेसन र आवश्यक प्रक्रिया सकिए लगत्तै सेवाग्राहीले तत्कालै सवारी साधनमा यो जडान गर्न सक्नेछन् ।
यसपटक २५ लाखको संख्यामा रहेका सबै प्रकारका सवारी साधनमा यो नम्बर प्लेट जडान गर्ने योजना सरकारको छ । यद्यपि, सरकारकको यो योजना यसपाली सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।







प्रतिक्रिया