
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी पूर्णगैरजिम्मेवार भएको निष्कर्ष हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको छ । प्राधिकरणले अधिकारी गैरजिम्मेवार भएको र तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै आइतबार उनलाई निगमको एकाउन्टेबल म्यानेजरबाट बर्खास्त गरेको हो ।
‘निगम अध्यक्ष अधिकारीलाई साढे १४ महिना अगाडिदेखि निलम्बनमा राखेर कमी कमजोरी सुधार गर्न मौका दिनुका साथै अर्को व्यक्तिलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिन समय दिइएको थियो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए। ‘नियामक नियाकको निर्देशको पूर्ण वेवस्ता गरेको कारण उनलाई एकाउन्टेबल म्यानेजरबाट बर्खास्त गरिएको हो, उनले भने’
निगमका अध्यक्ष अधिकारीलाई वर्खास्त गरेर अपरेसन निर्देशक क्याप्टेन दिपुराज ज्वारचनलाई जिम्मेवारी दिइएको पनि प्राधिकरणले जानकरी दिएको छ ।
प्राधिकरणले यसअघि गत वर्ष २०८१ को असार ११ गते निगमका अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई अर्को निर्णय नभएसम्मको लागि कार्यकारी भूमिकामा रहेर अर्थात एकाउन्टेबल म्यानेजरको रुपमा काम गर्न नदिने निर्णय गरेको थियो ।
प्राधिकरणको निर्णयपछि अधिकारीको एकाउन्टेबल म्यानेजरको जिम्मेवारीको अर्को सूचना नभएसम्मका लागि निलम्बनमा राखिएको थियो । उक्त जिम्मेवारी पूर्ण रुपमा खोसेर प्राधिकरणले अर्कै व्यक्तिलाई दिने निर्णय गरेको हो । प्राधिकरणको निर्णयपछि निगमका अध्यक्ष अधिकारीले उड्डयनसँग सम्बन्धित कुनै पनि निर्णय गर्न पाउँदैनन् भने उनको उड्डयनसँग सम्बन्धित निर्देशनसमेत चल्दैन ।
२०८२ वैशाख १५ गते, असार २० र साउन ४ गते प्राधिकरणले नेपाल एयरलाइन्सलाई उत्तरदायी प्रबन्धक तोक्न निर्देशन दिएको थियो । उक्त निर्देशनको वेवास्ता गर्दै निगमले हालसम्म कुनै ठोस प्रतिक्रिया नदिएको प्राधिकरणले निगमलाई पठाएको पत्रमा उल्लेख छ । निगमले प्राधिकरणको पटक पटकको निर्देशनलाई वेवास्ता गरेर एयरलाइन्स अपरेटर्स सर्टिफिकेट रिक्वायरेमन्ट (एओसीआर) र एओसीसँग सम्बन्धित व्यवस्थाको निरन्तर उल्लंघन गरेको दाबी प्राधिकरणको छ ।
नेपाल वायुसेवा निगमको एअर अपरेटर सर्टिफिकेट (एओसीआर)लाई निरन्तरता दिनेगरी सकेसम्म छिटो उपयुक्त उत्तरदायी प्रबन्धक प्रस्ताव गर्न र अन्यथा निगमलाई आवश्यकताअनुसार थप कारवाही गर्ने चेतावनीसहितको पत्र समेत प्राधिकरणले निगमलाई दिएको छ ।
निगमका अधिकारीले दुईवटा वाइडबडी जहाजमध्ये ए३३०–२०० सिरिजको दर्ता नम्बर (एन–एएलवाई) जहाज नियमित मर्मत (सी–चेक)गर्न विनाअनुमति युरोपको इटाली लगेपछि उनको एकाउन्टेबल म्यानेजर पद निलम्बनमा परेको थियो ।
उड्डयन प्राधिकरणका अनुसार निगमका अधिकारीले उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि उनको एकाउन्टेबल म्यानेजर पदलाई निलम्बनमा राखेर आन्तरिक छानविन गरेको थियो ।
प्राधिकरणका अनुसार वायसेवा कम्पनीहरूले जहाज मर्मत गर्न इटली लैजाने क्रममा नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको थिएन। प्राधिकरणबाट अनुमति नै नलिइ इटालीको एटिटेकमा जहाज मर्मत गर्न वाइड बडी जहाज पठाएको थियो । उड्डयन नियम अनुसार विदेशमा जहाज मर्मत गर्न पठाउँदा नियमकको अनिवार्य अनुमति लिनुपर्छ ।
अनुमति नलिएको कम्पनीमा अनुमतिविना जहाज लगेर उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको प्राधिकरणको ठहर छ । निगमले त्यही कम्पनीमा जहाज मर्मत गर्न लानु थियो भने विगतमै त्यो कम्पनीले अनुमति लिएको भए कुनै समस्या नहुने भएपनि निगमले नियामकलाई नटेरेका कारण समस्या उत्पन्न भएको थियो ।







प्रतिक्रिया