वायुसेवा निगमका अध्यक्षले बुझाए २७ बुँदे स्पष्टीकरण, कारबाहीबाट बच्लान् ?



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको २७ बुँदे स्पष्टीकरणको जवाफ पठाएका छन् । निगम अध्यक्ष अधिकारीले सोमबार प्राधिकरणमा स्पष्टीकरणको जवाफ पेश गरेका हुन् ।

‘प्राधिकरण नियामक निकाय भएकोले उसले सोधेको र स्पष्ट हुन खोजेको विषयमा जानकारी दिनु सेवाप्रदकको दायित्व हो । निगमले गरेको कामसहतिका विषयमा प्राधिकरणले सोधेको जवाफलाई स्पष्ट पारेर पेश गरेको छु’ अधिकारीले भने ।

आफूले निगमका विषयमा जानकारीको यथार्थ विवरण दिएको उनले बताए ।

अधिकारीले थपे ‘नियामक निकायले सोधेको स्पष्टीकरण भन्दा पनि निगमले गरेको काम कारवाहीको विषयमा जानकारी मागेकोले त्यसैको यथार्थ विवरण दिइएको हो ।’ वायुसेवा निगमले हवाई उड्डयन सुरक्षामा कुनै सम्झौता नगरेको उनले बताए ।

प्राधिकरणले सोधेको विषयमा २३ वटा विषयमध्ये २२ वटा कार्यान्वयनमै गइसकेको दाबी अधिकारीको छ । उनले प्राधिकरणले मागेको विषयमा र निगमले गरेको काम प्रभावकारी हुँदाहुँदै चुपचाप काम गरेकोले पनि बाहिर हल्ला नभएको हुन सक्ने बताए । त्यसबारे प्राधिकरणले थाहा नपाएको हुँदा लिखित रुपमै सम्बन्धित विषयको जानकारी मागेको र ती सबै विषयमा जानकारी दिइसकिएको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत मंगलबार (१३ चैतमा) निगमका कार्याकारी अध्यक्षलाई २७ बुँदे स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले निगमलाई युरोपेली युनियन (ईयू)को मिसनले औंल्याएका कमजोरी र प्राधिकरणले गरेको निरीक्षणका क्रममा औंल्याएका कमजोरीसमेतलाई समष्टिगत गरेर जवाफ मागेको थियो ।

निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधेको थियो । निगमले हवाई उडान सुरक्षामा हेलचेक्राइँ र खेलाँची गरेको पाइएको भन्दै चित्तबुझ्दो जवाफ नआए नागरिक उड्डयन नियमावली २०५८ अनुसार कारवाही हुने चेतावनीसहित उक्त स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणले वायुसेवा कम्पनीहरुका कार्यकारी प्रमुखलाई एकाउन्टेवल म्यानेजरको जिम्मेवारी तोकेको भन्दै त्यसको स्पष्ट र जित्तबुझ्दो जवाफ नदिए उक्त पद खोस्ने चेतावनी पनि दिएको छ ।

निगमलाई कन्टिन्युइङ एयरवर्दिनेस र मेन्टिनेन्स म्यानेजर लामो समयदेखि खालि राखेको, जहाजको नियमित मर्मत सम्भारमा कमजोरी गरेको, आन्तरिक उडानको एउटा जहाज ५ वर्षदेखि आवश्यक मर्मत समयमा नगरेर ग्राउन्डेड राखेको, मेन्टेनेन्स अर्गानाइसेजको स्तरीकरण औषत सीमाभन्दा कम राखेको, एउटा न्यारोबडी जहाज ४ महिनादेखि ग्राउन्डेड राखेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निगमको आन्तरिक अडिट कमजोर रहेको, ह्याङ्गर म्यानेजमेन्ट कमजोर, जहाजलाई न्यूनतम एयववोर्दी नराखेकोसहितका विषयमा २७ बुँदे स्पष्टीकरण सोधेको हो ।

उक्त स्पष्टीकरणको जवाफ सोमबार दर्ता भएको प्राधिरकणले जानकारी दिएको छ । अधिकारीले बुझाएको जवाफमाथि आवश्यक अध्ययन गरेर थप कारवाही गर्नुपर्ने वा सुधार भएको छ भन्ने विषयमा निर्णय हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘प्राधिकरणले हवाई क्षेत्रमा पूरा गर्नुपर्ने जिम्मेवारी र पूरा गर्नुपर्ने दायित्व गरेको छ कि छैन भनेर हेर्ने हो । नियामक निकाय जति कडा भएर प्रस्तुत भयो हवाई उड्डयन सुरक्षामा उति नै सुधार हुने भन्दै कारवाही गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधिएको हो’ उनले भने । त्यसको जवाफ आइसकोले अब आवश्यक अध्ययन गरेर मात्रै थप निर्णय हुने प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

भुलका अनुसार चित्तबुझ्दो जवाफ नआएको भने फेरि पत्र काटेर कमजोरी गरेको विषयमा कारवाही किन नगर्ने भन्न सकिन्छ । अन्यथा निगमले हवाई उड्डयनको सुरक्षामा सुधार गरेको पाइए वा पेश गरेको डकुमेन्ट सहितमा चित्त बुझ्दो जवाफ भए कारवाही गर्नुनपर्ने अवस्था नआउने उनले बताए ।


क्लिकमान्डु