निगमलाई प्राधिकरणको ७ दिने स्पष्टीकरण, कडा कारवाही गर्ने चेतावनी



काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

युरोपेली युनियन (ईयू)को मिसनले औंल्याएका कमजोरी र प्राधिकरणले गरेको निरीक्षणका क्रममा औंल्याएका कमजोरीसमेतलाई समष्टित गरेर मंगलबार निगमलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले भने ‘निगमले हवाई उडान सुरक्षामा हेलचेक्राइँ र खेलाँची गरेको पाइएको छ ।’ अब चित्तबुझ्दो जवाफ नआए ‘नागरिक उड्डयन नियमावली २०५८’ अनुसार कारवाही हुने पनि उनले बताए।

प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा हवाई उडानमा कमजोरी भएको दाबी गरेको छ । प्राधिकरणले वायुसेवा कम्पनीहरुका कार्यकारी प्रमुखलाई एकान्टेवल म्यानेजरको जिम्मेवारी तोक्ने गरेको छ । निगमले स्पष्ट जवाफ नदिए वा प्राधिरकणले चित्त नबुझाए उनको एकाउन्टेवल पद खोसिने चेतावनी पनि दिएको छ ।

निगमले कन्टिन्युइङ एयरवर्दिनेस र मेन्टिनेन्स म्यानेजर लामो समयदेखि खालि राखेको, जहाजको नियमित मर्मत सम्भारमा कमजोरी गरेको, आन्तरिक उडानको एउटा जहाज ५ वर्षदेखि आवश्यक मर्मत समयमा नगरेर ग्राउन्डेड राखेको, मेन्टेनेन्स अर्गानाइसेजको स्तरीकरण औषत सीमाभन्दा कम राखेको, एउटा न्यारोबडी जहाज ४ महिनादेखि ग्राउन्डेड राखेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निगमको आन्तरिक अडिट कमजोर रहेको, ह्याङ्गर म्यानेजमेन्ट कमजोर, जहाजलाई न्यूनतम एयववोर्दी नराखेकोसहितका विषयमा २७ बुँदे स्पष्टीकरण सोधेको छ ।


क्लिकमान्डु