कण्टिन्युइङ एयरवोर्दिनेस र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामककै प्रक्रियामा छः निगम



काठमाडौं । नेपाल वायुसेवा निगमले कण्टिन्युइङ एयरवोर्दिनेस म्यानेजर र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामक निकायकै प्रक्रियामा चलिरहेको जानकारी दिएको छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमलाई लामो समय कण्टिन्युइङ्ग एयरवोर्दिनेस म्यानेजर र मेन्टिनेन्स म्यानेजर नियुक्ति नगरेर खालि राखेको विषयमा स्पष्टीकरण सोधेको र त्यसको पत्र वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दिने तयारी गरेकाे विषय सोमबार क्लिकमाण्डुले सार्वजनिक गरेको थियो ।

क्लिकमाण्डुले उक्त समाचार सार्वजनिक गरेपछि वायुसेवा निगमले यी दुबै म्यानेजर नियुक्तिको काम प्राधिकरणकै नियम अनुसार भइरहेको जानकारी दिएकाे छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने ‘कण्टिन्युइङ्ग एयरवोर्दिनेस म्यानेजर र मेन्टेनेन्स म्यानेजर कुनैपनि कारणले सो जिम्मेवारीमा रहि कार्यरत नहुने वा बिदामा रहेमा प्राधिकरणले स्वीकृत गरेको म्यानुअल अनुसार एक तह तल्लो तहको कर्मचारीले सो जिम्मेवारी सम्हाल्ने ब्यबस्था छ।’

उनले भने ‘सोही व्यवस्था अनुसार यदि १५ दिन भन्दा लामो समयावधि खाली हुने अवस्थामा एकाउन्टेवल म्यानेजरले अर्को सक्षम कर्मचारीलाई यो जिम्मेवारी दिन सक्ने र सो को जानकारी प्राधिकरणलाई दिनुपर्ने नियम छ । साेही नियामानुसार प्राधिकरणमा पठाइसकिएको छ।’ उक्त पदमा जिम्मेवारी पाउने कर्मचारीको आवश्यक स्वीकृति सम्बन्धि काम प्राधिकरणकै प्रक्रियामा रहेकोले सबै नियमानुसार नै चलिरहेको पनि वायुसेवा निगमकाे भनाइ छ ।

प्राधिकरणको काम हवाई उडान र सुरक्षासँग सम्बन्धित भएकोले सो बाहेकमा सोधिने स्पष्टीकरण नियामककाे क्षेत्राधिकारभित्र नपर्ने दाबी पनि निगम स्रोतको छ । निगमका एक उच्च अधिकारीले भने ‘प्राधिकरणले आफ्नो क्षेत्राधिकार बाहिर गएर मागेको विवरण र जानकारीको विषयमा निगम अधिकारीले जानकारी वा स्पष्टीकरण दिइराख्नु पर्दैन् ।’


क्लिकमान्डु