नेवानि अध्यक्ष अधिकारीलाई १३ बुँदे स्पष्टीकरण, एकाउन्टेबल म्यानेजरबाट हटाउन अन्तिम चेतावनी




काठमाडौं । नेपाल वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणले १३ बुँदे स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले वायुसेवा निगम अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने विषयमा १३ बुँदे स्पष्टीकरणसहितको अन्तिम चेतावनीपत्र पठाएको छ । प्राधिकरणले नै वायुसेवा कम्पनीलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिने गर्छ ।

प्राधिकरणले नै सम्बन्धित वायुसेवा कम्पनीका प्रमुख कार्यकारीलाई कर्मचारीलाई एकान्टेवल म्यानेजर तोक्ने गरेको छ । कार्यकारी अध्यक्ष वा म्यानेजर बाहेक हवाई सुरक्षाको बारेमा अन्य कर्मचारीलाई जिम्मेवार बनाउने र आवश्यक समन्वय गर्ने काम जतिबेला पनि खोस्न सक्ने चेतावनी दिइएको प्राधिरकणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।


प्राधिकरणले हवाई सुरक्षा, वायुसेवा सञ्चालन, जहाजको नियमित मर्मत सम्भार गर्ने, ह्याङ्गरको व्यवस्थापन, ग्राउण्डेड जहाज उडानमा गरेको हेलचेक्राइँ सहितमा गरेको कमजोरीले निगमको उडान सुरक्षामै चुनौती थपिएको भन्दै प्राधिकरणले निगम अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने प्रयास गरेको छ ।

यसका लागि विभन्न १३ बुँदे स्पष्टीकरण सोधेको पनि प्राधिकरण स्रोतले क्लिकमाण्डुलाई जानकारी दिएको छ । प्राधिकरणले यस अघि दुइ पटक अधिकारीलाई स्पष्टीकरण सोधिसकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणमा अधिकारीले चित्तबुझ्दो जवाफ नदिएकोले अन्तिम चेतावनीसहितको पत्र पठाउने तयारी भएको र पत्र पठाइसकिएको जानकारी आफूलाई नभएको निरौलाले बताए ।

प्राधिकरणले सोधेको उक्त स्पष्टीकरणको पत्रमा हवाई सुरक्षामा संवेदनशील मानिने विषयहरुमा गम्भिर त्रुटि गरिरहेको पाइएको पनि उनको भनाइ छ

निगमले कन्टिनियुङ एयरवर्दिनेस म्यानेजर एण्ड म्यानेजमेन्ट म्यानेजर खाली राखेको, जहाज मर्मतमा खेलाँची गरेका कारण भएकै न्यारोबडी जहाज ४ महिनादेखि उड्न नसकेको, जहाज उडानमा पूरा गर्नुपर्ने न्यूनतम शर्त पालना नगरेको, जहाज मर्मत संस्थाको स्तरीकरण औषतभन्दा कम भएको, लामो समय जहाज थन्किदासमेत उडान गर्न नसकेको, निगमले गर्नुपर्ने अनुमगन नभएकोसहितका विषयमा निगमले कमजोरी गरेको भन्दै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको पत्र तयार भएको पनि प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

निगमको आन्तरिक अडिट कमजोर रहेको, युरोपेली युनियन (ईयू)ले औल्याएको कमजोरी सुधार नगरेको, पाइलट तथा कर्मचारीलाई दिनुपर्ने तालिममा कमजोरी गरेका सहितका विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको प्राधिकरणकै अधिकारीको भनाइ छ ।


क्लिकमान्डु