नेपाल विद्युत प्राधिकरणको नाफा घट्यो, हितेन्द्रले दिए यस्तो कारण


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेको छ । प्राधिकरणका अनुसार सो वर्षमा नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ भएको छ।

२०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । सोको तुलनामा २०८१/८२ मा नाफा ३७.३२ प्रतिशतले घटेको हो । कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेयता प्राधिकरण नाफामा रहेको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले विदेशी मुद्रा, विशेष गरी जापानी येनमा भएको अधिमूल्यनका कारण मात्रै अडाइ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको बताए ।

‘विद्युत बिक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । सञ्चालन खर्च, ब्याज खर्चलगायत सम्पूर्ण खर्चसहित सो वर्षमा कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ, जुन २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो,’ उनले भने, ‘ गत वर्षको तुलनामा विदेशी मुद्रा, विशेष गरी जापानी येनमा भएको अधिमूल्यनका कारण मात्रै अडाइ अर्ब रुपैयाँ बराबरको नोक्सानी भयो। डेडिकेटेड लाइन तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभिजनिङ गर्दा करिब साढे ५ अर्ब रुपैयाँ नोक्सानी थप भयो । प्रशासनिक खर्च वृद्धि र औसत विद्युत बिक्री मूल्यमा कमी आउँदा नाफामा केही कमी देखिएको छ। तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।’

विद्युत उत्पादन र खपत

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल क्षमता ३,५९१ मेगावाट पुगेको छ। सो अवधिमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको थियो ।

यसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत र ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो।

नेपालको आन्तरिक विद्युत खपत अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले बढेर ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ। त्यस्तै, २०८१/८२ मा ग्राहक संख्या ५७ करोड १ लाख पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले बढी हो ।

राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावट ०.४७ प्रतिशतले घटेको छ।

२०८१/८२ मा मात्रै प्राधिकरण प्रणालीमा ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ। यसमध्ये प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने निजी क्षेत्रको योगदान २९०.५ मेगावाट रहेको छ।

प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

Skip This