नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, यात्रा गर्न पुस मध्यसम्म कुर्नुपर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको र चाँडै सञ्चालनमा आउने जानकारी दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा पार गर्ने यात्रुहरूको लामो समयको कठिनाइ अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

२२ अर्ब रुपैयाँ लागत रहेको सुरुङमार्ग आयोजनाअन्तर्गत अहिले अन्तिम चरणका कामहरू भइरहेका छन् ।

उनका अनुसार, हालसम्म आयोजना ९३ प्रतिशत भौतिक प्रगतिमा पुगेको छ । कूल २.६८ किलोमिटर लामो यस सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण गरिएको छ । दुवैतर्फ पानी निकासका लागि नालीको व्यवस्था पनि मिलाइएको छ ।

यो सुरुङमार्ग ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रविधिबाट, विस्फोटक पदार्थ प्रयोग नगरी निर्माण गरिएको हो । हाल सडकमा सानो अवरोध हुँदा नौबिसे–काठमाडौं बीचको यात्रामा घण्टौँ जाम हुने गरेकोमा सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो।

सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

त्यस्तै पश्चिम खण्ड (सिस्नेखोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम अधुरोमा छोड्नु परेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

यो सुरुङमार्गबाट यात्रा गर्दा शुल्क तिर्नु पछ । सरकारले यो सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ । उक्त सुरुङमार्गमार्फत काठमाडौं भित्रँदा र बाहिरिँदा फरक फरक शुल्क तिर्नुपर्छ । नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै नागढुङगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० र फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यस्तै नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने भारी उपकरणले ६०० र फर्कदा २५० रुपैयाँ तिर्नु पर्ने सरकारले निर्णय गरेको छ ।

यसरी उठेको दस्तुरको रकम सडक बोर्डको खातामा जम्मा हुन्छ । सेवाप्रदायक कम्पनीले भने प्रयोग गर्न पाउँदैन । आयोजनाले सुरुङ सञ्चालनका लागि निजी सेवाप्रदायक कम्पनी खोज्नेछ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले जापानी कम्पनीले आउँदो कार्तिकको पहिलो सातासम्म सबै काम सम्पन्न गरिसक्ने गरी कार्यतालिका पेस गरेको बताए ।

जापानी कम्पनीले हस्तान्तरण गरेपछि त्यहाँ जडान भएका सबै प्रणालीहरूको ट्रायल अपरेशन गरिने र त्यसपछि सार्वजनिक रूपमा सुरुङ खुला हुन केही समय लाग्नेछ ।

सर्भिस प्रोभाइडरले सबै सिस्टम हेरर अभ्यस्त भइसकेपछि सुरुङ बल्ल आममानिसका पूर्ण रूपमा खुला हुनेछ ।
आपत्कालीन अवस्थामा कसरी उद्धार गर्ने लगायतको पाटोका साथै एम्बुलेन्सलगायत तयारी अवस्थामा राख्ने सहितका काममा सर्भिस प्रोभाइडर तयार भइसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

यी सबै काम सकाएर सन् २०२६ को जनावरी (पुस १७ गते) बाट सुरुङमार्ग सञ्चालनमा ल्याउने गरि काम भइरहेको उनले बताए ।

नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।