सर्वसाधारणका लागि स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो, कहिलेसम्म भर्न सकिन्छ ?

231
Shares

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई जारी गरिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्दैछ । यसअघि असार २७ देखि साउन ९ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरिएको थियो । उक्त चरणमा आवेदन दिएका २ हजार ३१० जनालाई गत साउन १६ गते १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

कुल २ लाख ७ हजार ९०० कित्तामध्ये १ हजार १५५ कित्ता कम्पनीका कर्मचारीका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) र अधिकतम ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन दिन सकिनेछ । आभदौ ३ गतेसम्म आवेदन दिन सकिने छ।