
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ४ अर्ब १० करोड ८९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवबमा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी घटे पनि अन्य आम्दानीमा सुधार भएको छ भने बैंकले सम्भावित नोक्सानीका लागि गरेको प्रोभिजन घटेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १४ अर्ब १२ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।
यस्तै खुद बैंकको फि तथा कमिसन आम्दानी १ अर्ब ७७ करोड ८० लाखबाट बढेर २ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी करिब ८८ करोडबाट बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने ५ अर्ब ११ करोड १६ लाख रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ५७ करोडमा झरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी १२ अर्ब ६६ करोड १० लाखबाट ३४.८० प्रतिशतले बढेर १७ अर्ब ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन खर्च बढे पनि सञ्चालन नाफा ५८.६७ प्रतिशतले बढेर १० अर्ब १४ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकले घाटा बुक ( राइट अफ) को लागि अघिल्लो आवमा ७२ करोड २१ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा ५६ करोड ८५ लाख खर्च गरेको छ ।
नाफा बढेसँगै बैंक विगतको सञ्चित नोक्सानी सकेर सामान्य सञ्चित नाफामा पुगेको छ । विगतमा उठ्न नसकेको बक्यौत ब्याज मात्रै २ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ उठाएर नियामकीय जगेडाबाट सञ्चित नाफामा सारेको छ ।
अघिल्लो आवमा ब्याज उठाउन नसक्दा १ अर्ब ४० करोड ५० लाख र गैरबैंकिङ सम्पत्ति बुक गरेको १ अर्ब १६ करोड ६५ लाख साथै डिफर्ड ट्याक्स एसेस्ट रिकग्नाइजको लागि १ अर्ब ६२ करोड ९३ लाख रुपैयाँ नियामकीय जगेडामा छुट्याउँदा बैंकको सञ्चित नोक्सानीमा थियो ।
गत आर्थिक वर्षमा भने बैंकले ६ अर्ब १८ करोड ४६ लाख वितरणयोग्य नाफा कमाएको छ । विगतको सञ्चित नोक्सानी ५ अर्ब ६९ करोड ३२ लाख समायोजन गर्दा सञ्चित नाफा ४९ करोड १४ लाख पुगेको बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ । जसबाट १.४४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
३४ अर्ब १२ करोड ८६ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १९ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । बैंकको सञ्चित कोष सकारात्मक भएको छ भने जगेडाकोषमा ३२ अर्ब ७४ करोड १७ लाख रुपैयाँ छ ।
प्राथमिक पुँजीकोष अनुपात बढेर ११.०९ प्रतिशतसहित कुल पुँजीकोष अनुपात १३.७३ प्रतिशत पुगेको बैंकको निष्क्रिय कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा १.३५ प्रतिशत छ ।
गत आवमा बैंकको निक्षेप करिब ६९ अर्बले बढेर ४ खर्ब ७२ अर्ब ३५ करोड पुग्दा कर्जा करिब साढे २१ अर्बले बढेर ३ खर्ब २६ अर्ब ९३ करोड पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार न्युन हुँदा सिडी रेसियो ७४.४४ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको आधार दर पनि घटेर ५.७८ प्रतिशतमा झरेको छ ।








प्रतिक्रिया